काठमाडौं, ३० भाद्र । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ।
कार्यभार सम्हालेकै दिन उहाँले प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूको नाम टुङ्गो लगाउनुभएको हो।
सिफारिसमा परेका तीनमध्ये एक जनाले राष्ट्रपति कार्यालय पठाइएको सूचीमा आफ्नो नाम भएको बीबीसीलाई बताउनुभयो।
अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो ।
आज सोमवार नै उहाँहरूले शपथ ग्रहण गर्नुहुने कार्यक्रम छ।
मन्त्रीमा टुङ्गो लाग्नेमा खनाल भूतपूर्व अर्थसचिव हुनुहुन्छ भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।
कानूनविद् अर्यालले काठमाडौं महानगरका मेअर बालेन शाहका कानुनी सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
यसअघि कार्यभार सम्हालेलगत्तै गरेको सम्बोधनमा प्रधानमन्त्री कार्कीले जेन जी पुस्ताको चाहनाबमोजिम काम गर्ने अठोट व्यक्त गर्नुभएको थियो।
नयाँ सरकारको पृष्ठभूमि
जेन जी आन्दोलन चर्केपछि गत मङ्गलवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको थियो।
त्यसपछि नेपाली सेनाको समन्वयमा जेन जीका प्रतिनिधिसँग कैयौँ चरणका औपचारिक तथा अनौपचारिक वार्तापछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो।
प्रधानमन्त्री नियुक्त भएकै राति उहाँले संसद् विघटन गर्दै आउँदो फागुन २१ गते आमनिर्वाचन घोषणा गर्नुभएको थियो ।
प्रथम महिला प्रधानन्यायाधीशको इतिहास रच्नुभएकी कार्की प्रथम प्रधानमन्त्री पनि हुनुभएको छ।
प्रधानमन्त्रीका प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा कार्कीले सविता भण्डारी बराललाई नियुक्त गर्नुभएको छ। उहाँ नेपालको इतिहासमा प्रथम महिला महान्यायाधिवक्ता बन्नुभएको छ।
चुनाव गराउने अभिभारा
पहिलो पटक महिला प्रधानन्यायाधीश बनेर इतिहास बनाएकी कार्कीले अहिले बाध्यताले कार्यकारी भूमिकामा आएको उल्लेख गर्नुभएको छ ।
“जुन परिस्थितिमा म आएँ, कुनै रहरले आएको होइन। सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो। म पनि विवश हुनुपर्यो”, पदभार ग्रहण गरेपछि आइतवार दिउँसो उहाँले भन्नुभयो ,”कुनै सत्ताको, पदको रसास्वादन गर्न आएको होइन, मेरो उमेर पनि होइन त्यो” ।
यसै वर्षको फागुन २१ गते आमनिर्वाचन गराउनुपर्ने अन्तरिम सरकारको काँधमा अभिभारा छ।
त्यसप्रति सङ्केत गर्दै प्रधामन्त्री कार्कीले निर्धारित समयभित्रै त्यो उत्तरदायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“‘छ महिनाभन्दा बढी नबस्ने, कुनै हालतमा आफ्ना कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने संसद्, मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पने हामीले अठोट गरेका छौँ”, उहाँले अगाडि थप्नुभयो ।
तर त्यसका लागि सुरक्षा निकायदेखि सबैको साथ आवश्यक भएकोमा उहाँले जोड दिंदै भन्नुभयो, “तपाईँहरूको साथ नपाई त्यो सम्भव छैन।”
सम्बोधनका क्रममा उहाँले जेन जी पुस्ताले आन्दोलनमार्फत् उठाएका मागको समेत चर्चा गर्नुभयो।
“यो समूहले भ्रष्टाचारको अन्त्य, सुशासन आर्थिक समानताको माग गरेको हुनाले त्यो पूरा गर्न अठोट गर्नुपर्ने अवस्था छ”, प्रधानमन्त्री कार्कीले अगाडि थप्नुभयो ।
चुनाव गराउने दायित्व भएको निर्वाचन आयोगले आमचुनावको मिति घोषणाबारे आधिकारिक रूपमा केही प्रतिक्रिया दिएको छैन।
तर ठूलो उथलपुथल भएको विषम परिस्थितिका कारण उत्पन्न सुरक्षादेखि राजनीतिक चुनौतीसम्मका कारणले आगामी छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न कठिन हुने कतिपय जानकारले बताएका छन्।


















