Prakash Adhikari September 15, 2025

-गनी अन्सारी
बीबीसी न्यूज नेपाली

काठमाडौं, ३० भाद्र । जेन जी आन्दोलनसँगै देशभरिका विभिन्न कारागारबाट भागेका सबै कैदीबन्दीहरू नफर्केमा विशेष सुरक्षा कारबाहीमार्फत् उनीहरूलाई फर्काइने एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताउनुभएको छ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार आइतवार रातिसम्म अझै ११ हजार कैदीबन्दी फरार अवस्थामा रहेका पाइएको छ।

विभागले फर्कन अथवा सम्पर्कमा आउन शुक्रवार आग्रह गरेयता कतिपय कैदीबन्दी फर्कन थालेका छन् भने कतिपयलाई प्रहरीले गिरफ्तार गर्न थालेको छ।

केही दिनयता फरार भएका अधिकांश कैदीबन्दीहरू अझै कारागार तथा बालसुधार गृह फर्किसकेका छैनन्।

कारागार फर्काउने पहल

आपराधिक मानसिकता भएका र फर्केर किन जाने भन्ने व्यक्तिहरूलाई प्रहरीमार्फत्‌ नै फर्काउनुपर्ने र नियन्त्रणमै लिनुपर्ने अवस्था रहेको निर्देशक न्यौपानेले बताउनुभयो ।

“त्यसका लागि हामीले प्रहरी कार्यालयमा अनि भाग्न नपाऊन् भनेर अध्यागमन कार्यालयलाई समेत कैदीबन्दीहरूको सूची पठाइसकेको अवस्था छ।

सीमानाकाबाट पनि पक्राउ गर्न र फर्काउन पहल भइरहेको छ”, उहाँले अगाडि थप्नुभयो ।

भारतसँग खुला सीमा रहेकाले नेपालबाट त्यस्ता कैदीबन्दीहरू भागेर पारि जान सक्ने जोखिमबीच त्यो कदम चालिएको अधिकारीहरू बताउँछन्।

भागेका कैदीबन्दीहरू समाजमा लुकेर बसिरहेका पाइएमा खबर गर्न समेत विभागले अनुरोध गरेको छ भने कैदीबन्दीहरूलाई फिर्ता हुन सञ्चारमाध्यममार्फत्‌ पनि समयसमयमा अपील गरिरहेको छ।

“कतिपय कैदीबन्दीहरू आफैँ आउने क्रम पनि जारी छ”, निर्देशक न्यौपानले भन्नुभयो।

सुरक्षा अपरेशनको विकल्प

उहाँका अनुसार फरार अपराधीहरूलाई खोज्ने प्रहरीको एउटा छुट्टै कार्यक्रम पनि रहेको हुन्छ।

प्रत्येक प्रहरी कार्यालयलाई एउटा निश्चित लक्ष्य तोकिएको हुन्छ र त्यसबमोजिम प्रहरीले त्यो काम गरिरहेको हुन्छ।

“पछिल्लो समय कारागारबाट भागेका कैदीबन्दी होऊन् अथवा पुपर्क्षका सिलसिलामा थुनामा रहेका व्यक्ति होऊन्, ती व्यक्तिहरूलाई खोज्ने क्रममा तदारुकता देखाउनका लागि प्रहरीसँग पनि समन्वय गरेर देशैभरि एउटा अपरेशन -अभियान चलाउने छौँ”, भावी कदमबारे निर्देशक न्यौपानेले उल्लेख गर्नुभयो।

त्यसमा सहयोगका लागि आमनागरिकलाई पनि अपील गरिने उहाँले जानकारी दिनुभयो।

फरार कतिपय कैदीबन्दीहरूका बेहोरा नसुध्रिसकेको हुन सक्ने भन्दै उनीहरू फेरि अपराधमा लाग्न सक्ने जोखिमतर्फ उहाँले सचेत गराउनुभयो।

“त्यसबाट बच्नका लागि व्यापक रूपमा सर्च अभियान चलाउने, खोजतलाश गर्ने, फर्कनका लागि पनि उनीहरूलाई आह्वान गर्नेलगायतका क्रियाकलाप गर्नैपर्छ”, निर्देशक न्यौपानेले थप्नुभयो ।

देशका एकाध स्थानमा त्यस्ता फरार केही कैदीबन्दीहरू आपराधिक गतिविधिमा संलग्न रहेका विवरण विभिन्न सञ्चारमाध्यममा आएका पृष्ठभूमिमा उहाँले यस्तो बताउनुभएको हो ।

“नकारात्मक असर पर्न नदिन स्वयं व्यक्तिहरू र समाज पनि सजग हुनुपर्ने देखिन्छ”, निर्देशक न्यौपानेले औँल्याउनुभयो ।

सुरक्षा मामिलाका एक जानकारले जेन जी आन्दोलनका क्रममा प्रहरी चौकी र थानाहरू सदरमुकाममा केन्द्रित भएकाले सुरक्षा निकायहरूलाई अपराध नियन्त्रणमा चुनौती थपिएको बताउनुभयो ।

पछिल्लो विवरण के छ?

विभागका निर्देशक न्यौपानेका अनुसार देशभरि २६ वटा कारागारबाट कैदीबन्दीहरू भागेर गएका छन्।

कुल २९ हजार सात जना कैदीबन्दीहरू रहेकामा १३ हजार २ सय ७ जना फरार भएका थिए।

बाल सुधार गृहका समेत जोड्दा ३० हजार ४ सय २९ कैदीबन्दी भएकामा १४ हजार १ सय ७१ जना भागेका थिए।

“अहिलेसम्म फर्कनेमा कारागारतर्फका २ हजार ७ सय ९६ जना र सुधार गृहका २ सय ४४ जना गरी ३ हजार ४० जना रहेका छन्”, न्यौपानेले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन्।

कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहने बताउनुभयो ।

विभागको सूचनामा के छ?

विभागले सार्वजनिक सूचना निकाल्दै कैदीबन्दी तथा बालकैदीहरूलाई फर्कन आह्वान गरिसकेको छ।

“देशका विभिन्न कारागार कार्यालयहरू तथा बालसुधार गृहहरूबाट निस्किएका बन्दीहरूरबालबिज्याइकर्ताहरू अविलम्ब आफू बसेको कारागार कार्यालय वा बालसुधार गृह वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउनुहुन सूचित गरिन्छ”, सूचनामा उल्लेख छ।

भागेका कैदीबन्दी र बालबन्दी अर्को जिल्लामा सम्पर्कमा आएका, पक्राउ परेका वा फेला परेकालाई बुझेर तत्काल सम्बन्धित कारागारमा पठाउन नसक्ने देखिएमा त्यहीँको कारागारमा बुझेर राख्न निर्देशन पनि दिइएको न्यौपानेले बताउनुभयो ।

“स्थिति सामान्य भएपश्चात् सम्बन्धित कारागार कार्यालयसँग समन्वय गरी स्थानान्तरण गर्ने व्यवस्था मिलाउन हुनका साथै कारागार कार्यालय नभएका जिल्लाहरूबाट पठाइएका कैदीबन्दीहरू नजिकका जिल्लाहरूमा कारागार कार्यालयहरूले समन्वय गरी बुझिलिनुहुन आदेशानुसार अनुरोध छ”, अघिल्लो सूचनामा भनिएको छ।

अनुरोधबमोजिम नफर्कने कैदीबन्दीहरूलाई कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारवाही गरिने विभागले चेतावनीसमेत दिएको छ।

ऐनमा के छ?

कारागारबाट भाग्ने उद्योग गर्ने कैदीबन्दीहरूलाई जरिवाना तथा कैद सजायको व्यवस्था कारागार ऐन, २०७९ मा छ।

कारागारबाट भागेमा अथवा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनी त्यसमा उल्लेख छ।

“प्रचलित कानुनबमोजिम सजाय पाई खुला कारागार, सुधार गृह, पुनर्स्थापना केन्द्र, बाल सुधार गृह, प्रोबेशन वा प्यारोलमा रहेका व्यक्ति भागेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय”, भनी ऐनमा उल्लेख छ।

Share Now