काठमाडौं,३० भदौ। संविधानबाहिरबाट नियुक्त हुनुभएकी नेपालकी प्रथम महिला प्रधानमन्त्रीले पदबहाली गरेको २४ घण्टा नपुग्दै उहाँलाई सो पदमा सिफारिस गर्ने जेनजीका अगुवा सुदन गुरुड.को समूहले उहाँको राजिनामा माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
प्रधानमन्त्री कार्कीले आफूहरुसंग परामर्श नगरी तीनजना मन्त्रीको नामा राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै सुदन गुरुड.को समूहले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेको बताइएको छ ।
नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भन्नुभएको थियो, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री कार्कीले सपथ ग्रहण गरेपछि सुदनले कार्कीको खुट्टा ढोगेका थिए ।
प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ ११ः३० बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ ।
सुदन गुरुङले काठमाडौंका मेयर बालेन साहका सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालप्रति कटाक्ष गर्नुभएको छ। ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँभित्र बसेर,’ गुरुड.ले आक्रोशित हुँदै भन्नुभयो ।
सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए ।


















