Prakash Adhikari December 27, 2025

 

काठमाडौं, १३ पौष । भोलिदेखि सूर्य नेपाल गोल्फ टुर प्रतियोगिता हुने भएको छ । शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।

नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) ले पुरस्कार राशीमा उल्लेख्य गरी सूर्य नेपाल गल्फ टुर २०२५-२६ को घोषणा गरेको हो।

संघका महासचिव दीपक आचार्यका अनुसार पछिल्ला सिजन जस्तै यो सिजन पनि कुल ८ प्रतियोगिता हुनेछन्।‌ यो सिजन ८ प्रतियोगिताका लागि कुल नगद पुरस्कार ८० लाख १० हजार रुपैयाँ रहने छ ।

गत सिजनमा पुरस्कार ६७ लाख ३२ हजार रुपैयाँ रहेको थियो। यो सिजन १२ लाख ७८ हजार रुपैयाँ पुरस्कार राशि बृद्धि गरिएको छ।

नयाँ सिजनको सुरूवात सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ। सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुनेछ। ७२ होलको ४ दिने प्रतियोगितामा नेपालका शीर्ष प्रोफेसनल तथा एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन्।

दोस्रो दिनको समाप्तिमा शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन्। उनीहरुबीच अन्तिम २ दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।‌

यो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १ लाख २५ हजार , तेस्रोले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन्।

पहिलो पटक नेपाल नम्बर एक प्रोफेसनल गल्फरको पहिचानमा निरज तामाङले सिजनको सुरुवात गर्दैछन्। उनलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ। यस्तै डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्मासँगै अनुभवी भुवन नगरकोटी, तोरणविक्रम शाही, दिनेश प्रजापति, सञ्जय लामा र रवि खड्का पनि दाबेदार खेलाडीमा गनिनुभएको छ।

गल्फ टुरको यो १९ औं‌ सिजन हो। एनपिजिएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले नयाँ सिजनअघि उत्साह व्यक्त गर्दै भने, ‘सूर्य नेपाल गल्फ टुरले आफ्नो १९औँ वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र यसले नेपालको प्रतिस्पर्धात्मक गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको छ।’

उनले थपे, ‘यो टुरले व्यावसायिक तथा एमेच्योर खेलाडीलाई प्रेरित गर्दै नयाँ प्रतिभालाई अगाडि बढ्ने अवसर प्रदान गरिरहेको छ। सूर्य नेपाल प्रा। लि। को निरन्तर सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं, जसको योगदानले टुरलाई सफल बनाएको छ।’

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत ८ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा सञ्चालन हुनेछन्। यो पटक काठमाडौंभित्र गोकर्ण फरेस्ट रिसोर्टमा २ वटा, रोयल नेपाल गल्फ क्लबमा ३ वटा तथा बाँकी ३ प्रतियोगिता काठमाडौं बाहिर पोखरा, धरान र बर्दिबासमा हुने भएको छ।

खेल तालिका र पुरस्कार राशी

पहिलो प्रतियोगिता

सूर्य नेपाल सेन्ट्रल ओपन सिजनको पहिलो प्रतियोगिता हो। यो प्रतियोगिता २०२५ को डिसेम्बर २९ देखि जनवरी १ सम्म गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। यो प्रतियोगिताको कुल १० लाख ५० हजार रुपैयाँ पुरस्कार रहनेछ।

दोस्रो प्रतियोगिता

सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन धरानको धरान गल्फ क्लबमा सन् २०२६ को जनवरी १४ देखि १७ सम्म हुनेछ। यो प्रतियोगिताको पुरस्कार १० लाख ५० हजार रुपैयाँ रहनेछ।

तेस्रो प्रतियोगिता

सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप नवनिर्मित आर्मी गल्फ कोर्स, बर्दिबासमा हुने भएको छ। यो कोर्समा टुरको कुनै पनि प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। यो प्रतियोगिताको कुल १० लाख ५० हजार रुपैयाँ पुरस्कार रहनेछ। प्रतियोगिता जनवरी २७ देखि २९ सम्म हुने तय भएको छ।

चौथो प्रतियोगिता

सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन रोयल नेपाल गल्फ क्लबमा फेब्रुअरी १० देखि १३ सम्म हुनेछ। यो प्रतियोगिताको कुल ८ लाख ७५ हजार रुपैयाँ रहेको छ।

पाँचौ प्रतियोगिता
सिजनको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखराको हिमालयन गल्फ क्लबमा हुनेछ। मार्चको ४ देखि ७ सम्म हुने यो प्रतियोगिताको कुल १० लाख ५० हजार रुपैयाँ पुरस्कार रहनेछ।

छैटौं प्रतियोगिता
सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा हुनेछ। नक आउटको आधारमा हुने यो प्रतियोगिता अन्य सात प्रतियोगिता भन्दा फरक हुनेछ।

जहाँ अर्डर अफ मेरिटको उत्कृष्ट १६ खेलाडीले मात्र यो प्रतियोगिता खेल्न पाउनेछन्। यसको पुरस्कार ४ लाख २५ हजार रुपैयाँ रहनेछ। प्रतियोगिता अप्रिल ७ देखि ९ सम्म हुनेछ।

सातौं प्रतियोगिता

सिजनको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा हुनेछ। मे ५ देखि ८ सम्म हुने प्रतियोगिताको कुल ७ लाख १० हजार रुपैयाँ पुरस्कार रहनेछ।

आठौं प्रतियोगिता

सिजनको अन्तिम तथा आठौं प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जुन २ देखि ६ सम्म हुने तालिका छ। यो सिजनको सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता हो। जसको कुल १८ लाख रुपैयाँ रहनेछ।

 

Share Now