Prakash Adhikari December 27, 2025

काठमाडौँ, १३ पुसः नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा गर्ने भनी नेपालका विद्वानहरूले मात्र निर्णय गर्न नसकिनेमा जोड दिइएको छ । विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय महिला ज्योतिष सङ्घको संयुक्त आयोजनामा शनिबार राजधानीमा भएको राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले चाडपर्व र संस्कृति अन्य देशसँग पनि एकापसमा सम्बन्धित रहेकाले निर्णय पनि संयुक्त रूपमा गरिनुपर्ने बताउनुभएको हो । यसका लागि अन्य देशका ज्योतिषविद् पनि बोलाएर सम्मेलन गरी निर्णयमा पुग्नुपर्ने सुझाव समितिले पेस गरेको छ ।

नेपाल, भारतलगायत देशका ज्योतिषीको सम्मेलनले संयुक्त रूपमा निर्णय नगरिए भारतका भक्तजन अघिल्लो दिन महाशिवरात्रि भनेर पशुपतिनाथमा आउने र नेपालले अर्कै दिनमा मनाउने अवस्था आउन सक्नेतर्फ पनि उहाँले ज्योतिषीहरूको ध्यानाकर्षण गराउनुभएको थियो । यस्तो अवस्था जनकपुरमा मनाइने विवाह पञ्चमीमा हुनसक्ने पनि अध्यक्ष ढकालको भनाइ थियो ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले २०८३ सालको पात्रो २०८२ सालकै जस्तोगरी प्रकाशन गरिने र २०८४ सालमा पात्रो प्रकाशन गर्नुअघि विस्तृत छलफल गरेर गरिने बताउनुभयो । कार्यक्रममा विश्व ज्योतिष महासङ्घका केन्द्रीय अध्यक्ष लोकराज पौडेलले २०८४ सालको पात्रो आकाशमा जुन अवस्थामा ग्रहहरू छन्, त्यही स्वरुप पात्रोमा झल्कने गरी प्रकाशन गरिनुपर्ने माग गर्नुभएको थियो ।

कार्यक्रममा समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, महासङ्घ नेपाल समितिका अध्यक्ष देवराज गौतमलगायत ज्योतिषीले पात्रो सुधार गरिनुपर्ने, नेपालको ज्योतिष एवं धर्मशास्त्रको क्षेत्रमा पनि सुधार गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

Share Now