Prakash Adhikari January 11, 2026

सञ्जय ढकाल / बीबीसी न्यूज नेपाली

काठमाडौं, ८ पौष । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नीति र नेतृत्व बदल्न आवश्यक पर्ने सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएका आयोजक पक्षले दाबी गरेको छ।

काठ्माडौंमा आइतवारबाट सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रको अन्त्यमा आयोजकले ६२ प्रतिशतभन्दा धेरै प्रतिनिधिले नाम दर्ता गराएका जानकारी दिएका छन् ।

कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ।

कार्यक्रममा महामन्त्री गगन थापाले महाधिवेशन प्रतिनिधिहरूले गर्ने निर्णय स्वीकारेर जाने बताउनुभयो ।

“हाम्रा सन्दर्भका बारेमा धेरै चिन्ता नगर्नुस्। कहिलेकाँही युद्ध जित्नका निम्ति लडाइँ हार्न पनि तयार हुनु पर्छ। पार्टीलाई ठीक ठाउँमा उभ्याउनका निम्ति जोखिम मोलेर आउनु भएको छ”, उहाँले भन्नुभयो ,”अवसर र चुनौतीका बीच भोलि बिहान हामी हलमा उपस्थित हुन्छौँ। दिनभरी छलफल गर्छौँ। हलले जेजे कुरा नेपाली कांग्रेस पार्टीमा स्थापना गर्ने भन्छ त्यो त्यो स्थापना हुन्छ।”

विशेष महाधिवेशनको उद्घाटन सत्रलाई महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गोपालमान श्रेष्ठ, गुरुराज घिमिरे, पुष्पा भुसाललगायतले सम्बोधन गर्नुभएको थियो।

नेपाली कांग्रेसको इतिहासमा दोस्रो पटक भएको भनिएको विशेष महाधिवेशनको पहिलो दिन जुलुस तथा सम्बोधनका कार्यक्रममा सीमित रहेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बीबीसीलाई बताउनुभएको छ ।

उद्घाटन कार्यक्रममा संस्थापन पक्षका नेताहरू उपस्थित थिएनन्।

आफूहरूले महाधिवेशनको उद्घाटन सभापति देउवाबाटै गराउने कोसिस गरेको तर महाधिवेशनको निम्तो लिएर जाँदा सभापतिका स्वकीय सचिवले हेरेर फर्काइदिएको आचार्यले बताउनुभयो ।

सोमवार कार्यविधि बनाएर अघि बढ्ने योजना रहेको आयोजकहरूले बताएका छन्।

त्यस्तो योजनामा नेतृत्व परिवर्तनका विषयसमेत पर्न सक्ने सम्भावना उनीहरूले नकारेका छैनन्।

निर्वाचन समिति आज बन्न सक्ने

“सोमवार चाहिँ पहिलो काम भनेको बिहान ८ बजे बन्दसत्र सुरु हुन्छ। वरिष्ठ सदस्यले त्यसको अध्यक्षता गर्ने छन्। अनि सुरुमा विशेष महाधिवेशन कार्यविधि २०८२ पास हुने छ”, आचार्यले भन्नुभयो ।

सोमवारको बन्दसत्रमा विभिन्न राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनहरू पेस हुनुका साथै निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने कार्यक्रम छ।

“सातै प्रदेशका सात समूह, काठमाडौं उपत्यकाको एक समूह अनि विदेशस्थित सदस्यहरू तथा भ्रातृ सङ्गठनहरूका एक समूह गरी नौवटा समूहमाझ छलफल गरिने छन्। ती समूहका नेताले बन्दसत्रमा प्रस्तुत गर्ने छन् र बन्दसत्रले निर्णय गर्ने छ।”

गत भदौको आन्दोलनपछिको सन्दर्भमा पार्टीको विशेष महाधिवेशन माग गर्दै गत असोजमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरावलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरी चारवटा विषयलाई मुख्य ुअजेन्डाु बनाएका छन्।

त्यसपश्चात् पार्टीले पुस मसान्तमा नियमित नै महाधिवेशन गर्ने भनेपछि विशेष महाधिवेशनको विषय सेलाएको थियो।

तर १० दिनअगाडि बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्दै फागुन २१ को चुनावपछि मात्र नियमित महाधिवेशन गर्ने निर्णय गर्‍यो।

सो बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ गतेदेखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका पेस गर्नुभएको थियो ।

त्यसबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत विशेष महाधिवेशन पक्षधरहरू बिच्किएका थिए।

अझै पनि आफूहरूले डाकेको विशेष महाधिवेशनमा संस्थापन पक्ष पनि सामेल हुने आशमा आइतवारसम्म आयोजकहरूले निर्वाचन समिति नबनाएको बताएका छन्।

तर संस्थापन पक्ष विशेष महाधिवेशनको आयोजनाप्रति एकदमै रुष्ट सुनिन्छ।

आइतवार बिहान बीबीसीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको आधिकारिक निर्णयलाई सबैले मान्नुपर्ने बताउनुभयो ।

“पार्टीले निर्णय गरिसकेको छ। जसलाई जे मन लाग्यो, त्यही गर्न मिल्दैन। विधि तथा प्रक्रियालाई मान्नुपर्छ”, महतले पार्टीले नियमित महाधिवेशन वैशाखमा गर्ने भनेर गरेको निर्णयप्रति इङ्गित गर्दै भन्नुभयो ।

दुवै थरीबीचको बेमेल बढ्दै जाँदा चुनावको सङघारमा पार्टी एकता जोखिममा परेको जानकारहरूको विश्लेषण छ।

Share Now