काठमाडौं,९ साउन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी भू-भागमा सरदर स्थानकै आसपासमा अवस्थित छ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम पूर्वानुमान
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस र कोशी प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहने जनाइएको छ।
देशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। विशेष गरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको मौसम पूर्वानुमान
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी बागमती र गण्डकीका तराईका केही स्थान, कोशी र मधेस प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
सतर्कता र सावधानी अपनाउन आग्रह
वर्षा हुने क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
साथै यसबाट दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण एवं सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई महाशाखाको अद्यावधिक सूचनामा रहन आग्रह गरिएको छ।








