इस्लामावाद(पाकिस्तान), ९ साउन । नेपाली भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो हार बेहोरेको छ।
नेपाल शुक्रवार आयोजक पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ । बलियो पाकिस्तानले नेपाललाई २५-१४, २५-१८,२५-१० ले हरायो। पाकिस्तानले यसअघिका दुई खेल ३(० को सोझो सेटमा जितेको थियो।
शीर्ष ४ मा रहँदै सेमिफाइनल पुग्न नेपालले बाँकी दुई खेलमा सकारात्मक नतिजा निकाल्नुपर्नेछ। नेपालले यसअघिका दुबै खेल पाँचौं सेटमा पुगेर गुमाएको थियो।
नेपालले बिहिवार श्रीलंकासँग भएको खेल पनि पाँचौं सेटमा पुगेर गुमाएको थियो। २-१ सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंकाले नेपाललाई २५-१८,२१-२५,१९-२५ २५-२१,१५-११ ले हराएको थियो ।
पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि नेपाली टोली काजकस्तानसँग ३-२ ले पराजित भएको थियो। काजकस्तानले नेपालले २५-१९, २५-२१, ३२-३४,१९-२५, १५-९ लाई हराएको छ ।
२-० ले पछि परेको खेलमा पुनरागमनका साथ २-२ को बराबरी गरेपनि नेपाल अन्तिम सेटमा चुकेको थियो। नेपालले अब बंगलादेश र उज्वेकिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा शनिवार विश्राम छ।
नेपाल, काजकस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्।
झन्डै एकदशक अघि सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो। पुरुष भलिबलमा नेपालले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक हो।
नेपाल राष्ट्रिय भलिबल टोलीबाट हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्दले काभा भलिबल च्याम्पियनसीपमा भाग लिइरहेका छन् ।
नेपाली प्रतिनिधि मण्डलमा जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), रुपेश कुमार विष्ट, (सहायक प्रशिक्षक), सोम बहादुर श्रेष्ठ (व्यवस्थापक) पनि टोलीमा सहभागी छन् ।








