काठमाडौँ। काभा वुमन्स क्लब भलिबल लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ।
माल्दिभ्सको मालेमा शुक्रबार राति सम्पन्न खेलमा नेपाल प्रहरीको भलिबल टोली इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा पराजित भएको हो।
नेपाल प्रहरीको टिमले रातिको खेलमा सोचेजस्तो प्रदर्शन गर्न सकेन । पहिलो सेटमा नेपाल प्रहरीको टिम२५–१४ र दोस्रो सेटमा २५–१५ ले पराजित भयो। तेस्रो सेटमा अलिकति सुधारिएको प्रदर्शन गरेको नेपाल प्रहरीले नतिजा भने २५–१८ ले इरानलाई सुम्पियो।
इरानी क्लब फौलादले भने प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
समूह ‘बी’ को पहिलो खेलमा नेपाल पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो।
साविक विजेता(सन २०२४) रहेको नेपाल पुलिसको टिम पुनः उपाधि चुम्ने उत्साहका साथ माल्दिभ्समा खेलिरहेको छ ।
यस बर्षको काभा वुमन्स क्लब भलिबल च्याम्यिनसीप २०२५ मा नेपाल, श्रीलंका, उज्वेकिस्तान, कजाकिस्तान, इरान र माल्दिभ्सका ७ क्लबले भाग लिएका छन् । जसमा नेपालबाट नेपाल पुलिस क्लब,श्रीलंकाबाट हिर्दारमानी, उज्वेकिस्तानबाट हुमो भलिबल क्लब, कजाकिस्तानबाट टुरान भलिबल क्लब, इरानबाट फौलाद र माल्दिभ्सबाट हुर्रा र वामको क्लब सहभागी छन् ।
सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा माल्दिभ्सको वामको, श्रीलंकाको हिर्दारमनी स्पोर्टस क्लब र कजाकिस्तानको टुरान भलिबल क्लब रहेका छन् भने समूह बीमा नेपालको पुलिस क्लब, उज्वेकिस्तानको हुमो भलिबल क्लब, इरानको फौलाद मोबारक सेपहन क्लब र माल्दिभ्सको हुर्रा कम्युनिटी क्लब रहेका छन् ।
समूह चरणमा अंकतालिकामा शीर्षमा रहेका समूह ए र बीका टोलीले अर्को समूहको दोस्रो स्थानमा रहेको टोलीसंग सेमिफाइनल खेल्ने छन् । १० फेब्रअरीका दिन सेमिफाइनलका उपविजेताबीच तेस्रो स्थानको लागि र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुने समयतालिका रहेको छ ।


















