Prakash Adhikari September 9, 2018

काठमाडौं, २४ भदौ । नेपाल वायुसेवा निगममा व्यवस्थापनले दुई वटा एअरबस ३३० -२०० सेरिजका बाईड बडीका जहाज भित्र्याए पनि यो व्यवस्थापनबाट संंस्थानका सुधार हुन नसक्ने निष्कर्ष निकाल्दै कर्मचारीहरुले धमाधम राजिनामा दिन थालेका छन् ।

निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार निगम करिब ४० अर्ब ऋणमा रहेकोे र उच्च व्यवस्थापनमा बस्ने महाप्रबन्धकसहितका उच्च पदाधिकारीको ध्यान भएका स्रोत साधनको अत्यधिक प्रतिफल आउने गरि अधिकतम् परिचालनमा केन्द्रित नभई खरिदबिक्री छुट र कमिशनको लुटमा मात्रै गएकोले कर्मचारीहरुले निगम छोडेका हुन् ।

निगमका उच्च पदाधिकारीका अनुसार हालसम्म निगमको वाई १२ का प्रशिक्षक.(इन्टक्टर) गौतमप्रसाद खनाल, इन्जिनियरिड.का पी.बी बस्नेत,मार्केटिड.का गौरी नायक डाँगी र प्रवीणराज भण्डारी, फाइनान्सका राजेन्द्र हुमागाँई, अपरेसन्न विभागका सूर्यराज अधिकारी र रामकृष्ण खड्का र परिवहन विभागका रामलाल श्रेष्ठले राजिनामा दिइसक्नुभएको छ ।

निगमको भविष्य अन्धकारमय देखेर कर्मचारी यति तर्सिएका छन कि इन्जिनियर गौतमप्रसाद खनाल त करार अवधि बाँकी रहदै  छोेड्नका लागि जरिवाना तिर्नुपर्छ भने त्यो तिरेर पनि निगमको छाँयाबाट मुक्त हुन खोज्नुभयो ।

इन्जिनियर पीबी बस्नेत पनि सोही शैलीमा बाहिरिने गरि राजिनामा दिनुभएको हो ।

पाइलट कोपाइलटको चेतावनी

निगममा नियमित प्रक्रिया पुर्याएर लिइएका अपरेसन विभाग अन्तरगतका पाईलट र को पाईलटले मंगलबार निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई भेट गरि विभाग अन्तरगत अस्थायी र स्थायी सेवामा रहेका विमान चालकहरुलाई करारमा लिइएका विमान चालकको भन्दा कम तलब र भत्ता दिएको जनाउदै यो स्थितिको अन्त्य नभएमा कुनै पनि बेला जस्तोसुकै कदम चाल्न पनि बाध्यहुने चेतावनी दिएका छन्  ।

क्याबिन क्रु हस्ताक्षर अभियानमा

निगम व्यवस्थापनको समग्र ध्यान दुई ठूला वाईड बडीको खरिदमा भएको ६ अर्ब ५९ करोड रुपैयाको घोटालालाई राजनीतिक शक्ति लगाएर सामसुम पार्नेमा लागेकोले कर्मचारीहरुको वृत्ति विकासमा त्यति ध्यान दिन सकेको छैन् ।

निगमको भरपर्दो सूत्रले दिएको जानकारी अनुसार निगममा एकदेखि डेढ दर्जनको हाराहारीमा मात्रै स्थायी क्याविन क्रु छन् बाँकी एक  सय जति करारमा नियुक्त भएका छन् ।

स्थायी र करारका कर्मचारीका बीचमा उनीहरुले पाउने विदा,संचय कोष रकम,उपादान वा पेन्सन, स्वास्थ्योपचार खर्च, अन्य भत्ता र तालिम र बढुवाका अवसरमा ठूलो अन्तर हुन्छ । करारका कर्मचारीले करारको कागजमा लेखिएकाभन्दा बढी सुविधा पाउदैनन् । बेरोजगार हुँदा रोजगारी नै ठूलो भएकोले विना बार्गेनिड. न्यून तलव र सुविधामा सेवा प्रवेश गर्ने करारका कर्मचारी पीडा व्यवस्थापनले बुझ्न सकेको छैन् ।

उच्च व्यवस्थापकहरु हरेक खरिद बिक्रीका करोडौ रकम कुम्ल्याउने तर करारका क्याबिन क्रुहरुलाई जीवन निर्वाह हुने सम्मको व्यवस्था पनि नगरेकोले न्यून बैतनिक कर्मचारीहरु निकै आक्रोशित भएको बताइन्छ ।

वाईड बडीलाई ७४ मिलियन

निगमका एक उच्च पदाधिकारीले दिएको जानकारी अनुसार ८०० घण्टा उडेको एअरबस ३३०-२००  लाई  ७४ मिलियन डलरमा दिन कम्पनीहरुले पत्राचार गरिरहेका छन् ।

निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले पनि यस्तै विचौलियाको संगतमा परेर सस्तोमा सेकेण्ड ह्याड जहाज किनेर एअरबसले देखाउन राख्ने क्याटलग मूल्य तेस्र्याएर ठूलो रकम मूल्यान्तरमा खानका लागि १००० घण्टासम्म उडेको सेकेण्ड ह्याण्डको जहाज किन्ने चक्करमा लागेको बताइन्छ ।

सगरमाथा ग्राउडेड, लुम्बिनीमा पनि समस्या

निगमको बेडामा रहेका मध्ये साँघुरा आकारका दुई एअरबस ३२० -२०० मध्ये सगरमाथामा चरा ठोक्किएकोले शुक्रबारदेखि त्रिभुवन विमानस्थलमा भूमिस्थ भएर बसेको छ ।अर्को लुम्बिनीमा पनि बिहीबार खराबी आएपछि यसले आफ्नो नियमित उडान गर्न सकेन । आवश्यक मर्मत संभारपछि शनिबारबाट भने जहाज उडेको छ ।

सगरमाथा भूमिस्थ भएकोले निगमलाई बाईड बडीका जहाज उडाउने बाहाना मिलेको छ तर जहाज उडेपनि यात्रुसंख्या भने बढ्न सकेको छैन । जाँदा नब्बे र फर्कदा ७४/७५ जना  लिएर २७४ सीटे जहाज उडिरहेको छ । भाडा आधा कायम गर्दा पनि २०० सीट खाली राखेर जहाज उडाउने परिस्थिति आउनुलाई निगमका प्राविधिकहरु निकम्बा व्यवस्थापनको परिणाम भन्दछन् ।

Share Now

Leave a comment.