काठमाडौं, १ जेठ । । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायीमाथि भएका धरपकडका घटनाले व्यावसायिक वातावरणमा त्रास सिर्जना भएको टिप्पणी गरेको छ ।
महासंघले बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै आर्थिक मुद्दाको अनुसन्धानका नाममा भइरहेका धरपकडका घटनाले लगानीकर्तामाझ नकारात्मक सन्देश गएको बताएको छ ।
‘पछिल्ला केही दिनयता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायी, निर्माण व्यवसायी र बैंकरहरूलाई पक्राउ गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्ररबैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।’
त्यसका साथै आम सर्वसाधारणको निक्षेप संकलन गरेर जनविश्वासमा आधारित बैंकको कर्जा असुली गरेको कारणबाट बैंकका कार्यकारी अधिकृत पक्राउले बैंकिङ्ग क्षेत्रको साखमा नै असर पर्न सक्ने महासंघको चिन्ता छ ।
‘यसका साथै बैंकिङ्ग क्षेत्रबाट कर्जा प्रवाह सम्बन्धि गरिने निर्णय क्षमतामा पनि प्रभाव पर्ने तथा लगानी संकुचन हुन गई देशको समग्र आर्थिक प्रणालीमा समेत नकारात्मक असर पर्न जाने देखिन्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
सरकारले प्रारम्भिक अनुसन्धान गर्नु अगावै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने, मिडिया ट्रायल गर्ने जस्ता कार्य गर्दा सम्बन्धित व्यवसायीहरूको मान प्रतिष्ठामा समेत आँच पुगिरहेको महासंघले भनेको छ । ‘यस्ता अनुसान्धान गोप्य रूपमा गर्न र उद्योगी व्यवसायीमाथि देवानी दायित्व सिर्जना हुने मुद्दाको छानविन, अभियोजन सोही अनुरूप गर्न महासंघ आग्रह गर्दछ,’ पत्रमा अगाडि भनिएको छ ।
नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था पनि पत्रमार्फत् स्मरण गराउँदै सरकारलाई गम्भीर हुन आग्रह गरिएको छ ।








