काठमाडौं, १ जेठ । नेपाल निर्माण व्यवसायी महासंघले पश्चिम एसियामा जारी युद्धका कारण मूल्यवृद्धि समस्या सम्बोधन नगरेपछि शान्तिपूर्ण विरोध कार्यक्रम सुरु गरेको छ।
महासंघले बिहिवार विकास निर्माणसंग संबन्धित सडक विभाग र उर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएर आधा घण्टा धर्ना दिएको छ।
हिजो ७७ जिल्लाका निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर आधा घण्टा धर्ना दिए ।
मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थिति आएको महासंघले जनाएको छ । यी विषयमा अवगत गराउँदै ज्ञापन पत्र दिएर देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिनुभएको छ ।
महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन् ।
विरोधकै कार्यक्रम अन्तर्गत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवम् प्रवक्ता मंगलबहादुर शाहीले बताउनुभयो।
निर्माण व्यवसायीहरुले मूल्य समायोजन नगरे विकास निर्माणका सबै कार्य ठप्प पार्ने चेतावनी पनि दिएका छन् ।








