काठमाडौं, १ जेठ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गरेको हो ।
पाण्डेको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उहाँकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो।
उक्त रिटमाथि हिजो भएको सुनुवाईमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस विषयमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई आज छलफलमा बोलाएको थियो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो।
न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा यस मुद्दाको पेशी तोकिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाण्डेलाई गत मंगलबार पक्राउ गरेको थियो।
बैंकसंग कर्जा लिंदा स्मार्ट सेल टेलिकमले धितोमा राखेको सम्पत्ति सो कम्पनीको लाइसेन्स नविकरण नभएपछि नियमपूर्वक लिलामी गरी बैंकको कर्जा असुल उपर गरेको विषयमा उठेको विवादमा उहाँमाथि प्रहरीले अनुसन्धान गरेको जनाएको छ।
पाण्डेको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उहाँकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको रिटमा पाण्डेलाई तत्काल रिहा गर्न माग गरिएको थियो । सिईओ पाण्डेलाई सीआईबीको नियन्त्रणमा राखिएको थियो।








