Prakash Adhikari May 15, 2026

 

काठमाडौं, १ जेठ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा महत्वपूर्ण सुनुवाइ भइरहेको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा यस मुद्दाको पेशी तोकिएको हो। यसअघि बिहीबार न्यायाधीश अजीज मुसलमानको एकल इजलासले यस विषयमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई आज छलफलमा बोलाएको थियो।

आज दुवै पक्षको बहस सकिएमा पाण्डेलाई थुनामै राख्ने वा रिहा गर्ने भन्नेबारे अदालतबाट आदेश आउने सम्भावना रहेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाण्डेलाई गत मंगलबार पक्राउ गरेको थियो।

बैंकसंग कर्जा लिंदा स्मार्ट सेल टेलिकमले धितोमा राखेको सम्पत्ति सो कम्पनीको लाइसेन्स नविकरण नभएपछि नियमपूर्वक लिलामी गरी बैंकको कर्जा असुल उपर गरेको विषयमा उठेको विवादमा उहाँमाथि प्रहरीले अनुसन्धान गरिएको जनाएको छ।

तर, पाण्डेको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उहाँकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो।

रिटमा पाण्डेलाई तत्काल रिहा गर्न माग गरिएको छ र अहिले सिईओ पाण्डे सीआईबीको नियन्त्रणमा रहेका छन्। अदालतको आजको फैसलाले यो प्रकरणमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

Share Now