काठमाडौं, २४ आषाढ । कुमारी बैंक लिमिटेड र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनबीच रणनीतिक परियोजना सम्झौता भएको छ ।
नेपालमा दिगो बैंकिङ अभ्यासहरूलाई संस्थागत र विस्तार गर्ने उद्देश्यले यो साझेदारी गरिएको हो ।
जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा सञ्चालित ‘एसियाली देशहरूमा वित्तीय क्षेत्रको सामाजिक(पारिस्थितिकीय रूपान्तरण’ अभियान अन्तर्गत यो सम्झौता भएको हो ।
सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डच स्पार्कासेनस्टिफ्टुङकी एसिया डिभिजन प्रमुख डा। इलोन्का रुल स्टर्नले हस्ताक्षर गर्नुभएको छ ।
यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ । यस अन्तर्गत हरित बैंकिङ अभ्यासहरूलाई बैंकको प्रणालीमा पूर्ण रूपमा समाहित गर्ने र त्यसलाई देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
सम्झौताबारे बोल्दै कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले भन्नुभयो, ‘यो सम्झौता कुमारी बैंकका लागि दिगो बैंकिङको परिपक्वतातर्फको एउटा निर्णायक कदम हो । अन्तर्राष्ट्रिय अनुभव र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा हामीले हरित वित्त, न्यून कार्बन उत्सर्जन र दिगो उद्यमशिलतालाई प्राथमिकता दिनेछौं ।’
प्राविधिक सहयोग र क्षमता अभिवृद्धिसम्झौता अनुसार डच स्पार्कासेनस्टिफ्टुङले बैंकलाई आफ्ना विशेष प्राविधिक पद्धतिहरू उपलब्ध गराउनेछ । जसमा ‘ईएसजी रिस्क राडर’ र ‘सस्टेनेबल फाइनान्स कम्पास’ जस्ता उपकरणहरू समावेश छन् । यसका साथै ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सबलीकरणका लागि ‘बिजनेस गेम्स’ मार्फत हरित उद्यम क्षमता अभिवृद्धि गर्ने कार्यक्रम समेत सञ्चालन गरिनेछ ।
कुमारी बैंकले आफ्नो २ सय ८६ शाखा, ३ सय ३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर र ४१ शाखारहित बैंकिङ एकाईसहितको वृहत सञ्जालमार्फत यो रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।








