काठमाडौँ, १५ भदौः रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ । टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो ।
केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ मजदुर गरी केन्द्रका ९३ जनशक्ति हाल बेपत्ता अवस्थामा रहेको जानकारी दिनुभयो ।
इन्जिनियर पौडेलले भोटेकोशी बाढीबाट टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिका समेत रहेकी आफ्नी श्रीमती कविता न्यौपाने पौडेलसहित रसुवागढी जलविद्युत् केन्द्रका सबैजसो सहकर्मी गुमानुपरेको पीडा सुनाउनुभयो । विनाशकारी बाढीको दुई दिनअघि काठमाडौँमा अध्ययनरत छोरीको उपचार गराउन आउँदा ज्यान जोगिए पनि श्रीमतिसहित सहकर्मी गुमानपर्दाको पीडाका बीच उहाँले जीवनमा अकल्पनीय दुःख व्यहोर्न परेको बताउनुभयो ।
बिहान कार्यालय समयभन्दा अघि एक्कासि बाढी आएकाले अधिकांश सहकर्मीसहित परिवारजन टिमुरेस्थित आवासगृहबाट बेपत्ता भएको हुनसक्ने बताउँदै इन्जिनियर पौडेलले सो समयमा रसुवागढी जलविद्युत केन्द्रभित्र तीन जनामात्र कर्मचारी रहेको जानकारी दिनुभयो । उहाँले चिलिमे जलविद्युत् केन्द्रमा पनि जम्मा छ जना कर्मचारी रहेको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो ।
–––








