आम्सटर्डम(नेदरल्याण्ड्स), ११ साउन । आईसीसी विश्वकप लिग २ अन्तरगत नेदरल्याण्डको राजधानी आम्सटर्डमको उत्रिचस्थित स्पोर्टसपार्क मार्शचकरविर्डमा भइरहेको १ सय १८ औ खेलमा नेपालसमक्ष नामिबियाले २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर फिल्डिड. गरेपछि पहिले ब्याटिड. गरेको नामिबियाले ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय ११ रन जोड्यो ।
नामिबियाका लागि जन फ्रयांकलिनले १०० रन बनाए । त्यस्तै लौरेन स्टेनक्याम्पले ५९ रन बनाए । अन्यमा मलान क्रुजरले १५, जोन निकोल लफ्टि इटनले १०, जान ग्रिनले ६, माइकल भान लिनजेनले ५, गेरहार्ड इरास्मस र जेजे स्मिथले ३।३ रनको योगदान गरे । उसले ८ वाइड, एक बाई र एक लेगबाईबाट थप १० रन जोडेको थियो ।
नामिबियालाई रोक्ने क्रममा करन के.सी.ले ५, सोमपाल कामीले एक विकेट लिए भने एक विकेट रन आउटबाट लियो नेपालले ।
नामिबियाको विकेट लिन आज पनि नेपाली खेलाडीहरुलाई संघर्ष गर्नुपर्यो । नेपालले पहिलो विकेट ३.६ ओभरमा, दोस्रो ११.१ ओभरमा लिएको थियो भने तेस्रो विकेट लिन ४१.३ ओभर कुर्नपर्यो । त्यसपछि भने ४१.५, ४३.६,४८.६,४९.३ र ४९.६मा नेपाललाई विकेट लिने सफलता जुर्यो ।
लिग २ को हालसम्मको खेलमा नेपाल र नामिबिया समान अंक २४ सहित अंकतालिकाको पाँचौ र छैठौं स्थानमा छन् । आजको खेलमा जित निकाल्न नसकेको खण्डमा नेपाल अंक तालिकाको छैंटौं स्थानमा झर्ने छ। पाँचौं स्थानमा यथावत रहन नेपालले आजको खेल जित्नै पर्ने हुन्छ।
दुवैले हालसम्मको ३० खेलको समाप्तिमा समान २४ अंक जोडेका हुन् । लिग २ को छनोट समूहमा ४३ अंकसहित अमेरिका शीर्षस्थानमा छ।








