काठमाडौं, १३ साउन । सुनसरी लगायतका क्षेत्रमा भड्किएको तनावपूर्ण परिस्थिति, अशान्ति र सामाजिक सद्भाव खलबलिने जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख राजनीतिक दलहरूले संयमता र शान्ति कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेको पहलमा आज बिहान सार्वजनिक लेखा समितिको बैठक कक्ष सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रमुख नेताहरूको सहभागिता रहेको थियो।
बैठकमा सुनसरीको देवानगञ्ज लगायतका स्थानमा विकसित घटनाक्रम र उत्पन्न सुरक्षा चुनौतीबारे गहन छलफल भएको थियो।
बैठकपछि नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार, समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति(सुव्यवस्था कायम राख्नका लागि सबै दलहरूले एकमुख भएर संयुक्त अपिल (विज्ञप्ति) जारी गर्ने सहमति भएको छ।
बैठकमा सहभागी नेताहरुले आवेग र उत्तेजनामा नआई धैर्यताका साथ समस्याको समाधान पहिल्याउन सरकारलाई आग्रह गर्दै नागरिकलाई आआफ्नो स्थानबाट शान्ति र सद्भाव कायम राख्न आह्वान गरेका छन्।
सर्वदलीय बैठकमा सहभागी नेताहरूले यस्तो संवेदनशील र गम्भीर परिस्थिति उत्पन्न हुँदा पनि प्रधानमन्त्री तथा गृहमन्त्रीको उपस्थिति र सक्रियता नदेखिएको भन्दै चासो व्यक्त गरेका थिए।
नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूले भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सरकार किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न उठाउँदै सरकारलाई थप जिम्मेवार भएर कदम चाल्न आग्रह गर्नुभएको थियो ।
बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले देशको संवेदनशील क्षेत्रमा शान्ति र सद्भाव खल्बलिएको अवस्थामा सरकार कहाँ छ र के गर्दैछ भनेर गम्भीर प्रश्न उठाउनुभएको थियो ।
बैठक आयोजक राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको घटनापछि सिर्जित असहज परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूले प्रयास जारी राखेका छन्। तर, सम्भावित सामाजिक द्वेष र भ्रमहरूलाई चिर्न राजनीतिक तहबाटै एउटा एकीकृत र स्पष्ट सन्देश दिनु आवश्यक देखिएकाले सर्वदलीय बैठक डाकिएको बताउनुभएको छ।
“अत्यन्तै संवेदनशील र दुःखद घटनापछि सिर्जित परिस्थितिलाई लिएर समाजमा द्वेष नफैलियोस् र शान्ति(सुरक्षा तथा सामाजिक सद्भाव कायम रहोस् भन्ने हाम्रो मुख्य ध्येय हो,” महामन्त्री आचार्यले भन्नुभयो, “प्रशासनिक कदमहरूसँगै राजनीतिक नेतृत्वले पनि एकै ठाउँ उभिएर सामूहिक अपिल गर्नु अहिलेको प्राथमिक आवश्यकता भएकाले यो छलफल आयोजना गरिएको हो।”
बैठकले देशका अन्य भागहरूमा समेत कुनै पनि बहानामा सामाजिक र धार्मिक सद्भाव बिग्रिन नदिन स्थानीय तहमा पनि संवाद र पहल बढाउनुपर्नेमा जोड दिएको छ।
बैठक समाप्त भएपछि आयोजक सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति गर्दै सामाजिक सद्भाव कायम राख्नका लागि सबै दलहरूको तर्फबाट संयुक्त अपिल जारी हुने जानकारी दिनुभएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो।








