Prakash Adhikari August 28, 2026

काठमाडौं, १२ भाद्र । हिमालयन बुलियन कम्पनी लिमिटेडले भोटेकोशी त्रिशुली नदीमा आएको अकल्पनीय बाढी प्रभावितको खोजी,उद्धार राहत कार्यका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैया सहयोग प्रदान गरेको छ ।

कम्पनीका तर्फबाट सो रकम बराबरको चेक शुक्रवार अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

सहयोग रकम आज अर्थमन्त्रालयमा कम्पनीका प्रतिनिधिहरु राकेश कुमार अडुकिया, रोहन अडुकिया, भिष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले हस्तान्तरण गर्नुभएको हो ।

यो अनपेक्षित प्राकृतिक विपत्ति पर्नुभएका नागरिकहरुको खोज, उद्धार, तत्काल राहत समेतका लागि हिमालयन बुलियनले बिहिवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २१ लाख जम्मा गरेको थियो । कम्पनीले आज रु ८० लाख थप गरेर अर्थमन्त्री डा. वाग्लेलाई रु १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रका रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहुँमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति कम्पनीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै बाढीमा परी घाइते भएका सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

कम्पनीले यो पीडाको यो घडीमा प्रभावित परिवारहरुको दुःखमा आफू पनि सँगै रहेको जनाएको छ ।  मानवीय संवेदनाका घडीमा पीडितहरुको घाउमा मल्हम लगाउनु सबैको साझा दायित्व भएको पनि हिमालयन बुलियनले जनाएको छ ।

हिमालयन बुलियन कम्पनी लिमिटेड नेपालमा उच्च गुणस्तरको चाँदीको व्यापार गर्ने कम्पनी हो ।

 

Share Now