Prakash Adhikari August 28, 2026

काठमाडौं, १२ भदौ । चीनले तिब्बतमा जारी उद्धार कार्यलाई पुनः बाढी आउन सक्ने उच्च जोखिमका कारण अगस्ट २८ मा स्थगित गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। विनाशकारी पहिरो गएको दुई दिन बितिसक्दा पनि सो क्षेत्रमा सयौँ मानिस अझै बेपत्ता रहेका छन्।

चीन-नेपाल सीमा क्षेत्रमा गएको पहिरोपछि लेदो र पहिरोको ठूलो थुप्रोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू अघि बढिरहेको क्षेत्रतर्फ बग्न थालेको सरकारी प्रसारण संस्था सिसिटिभी ले जनाएको छ।

“सबै उद्धार टोलीहरूलाई तत्कालका लागि भएकै ठाउँमा ‘स्ट्यान्ड बाइ’ रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,” समाचारमा भनिएको छ।

यसअघि सो क्षेत्रमा पुगिसकेका आपत्कालीन टोलीहरूलाई पनि १ किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।

गत अगस्ट २६ मा तिब्बतस्थित सीमावर्ती व्यापारिक नाका केरुङ (ग्याइरोङ) मा ठूलो पहिरो खसेपछि उक्त ताल बनेको थियो। घटनामा सयौँ मानिस बेपत्ता भएको विवरण प्राप्त भएको छ।

निरन्तरको वर्षाका कारण आगामी तीन दिनसम्म तालमा पानीको सतह बढ्दै जाने र सेप्टेम्बर १ वरपर उच्च विन्दुमा पुग्ने अनुमान गरिएको सिसिटिभीले जनाएको छ।

यसले गर्दा “ताल फुट्ने र तल्लो तटीय क्षेत्रमा बाढी आएर केरुङ नाकालगायत अन्य होचा भागहरूमा थप क्षति पुर्‍याउन सक्ने जोखिम बढाएको छ,” सरकारी समाचार एजेन्सी सिन्ह्वाले अगस्ट २७ को अबेर जनाएको थियो।

आपत्कालीन इन्जिनियरिङ टोलीहरूले परिस्थितिको सूक्ष्म अनुगमन गरिरहेको सिसिटिभीले जनाएको छ।

साथै, अगस्ट २८ सम्ममा ४९९ जना चिनियाँ नागरिक र ५५५ जना विदेशी नागरिकलाई विपद्ग्रस्त क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको छ।

उद्धारकर्ताहरूले अझै बेपत्ता रहेकाहरूको खोजीका लागि ड्रोनमा आधारित ‘थ्रीडी मोडलिङ’, ‘थर्मल इमेजिङ’ प्रविधि र प्रत्यक्ष खोजी कार्य जारी राखेका छन्।

Share Now