काठमाडौँ, १४ भदौः छिमेकी मुलुक भारतबाट आएको सुरुङ उद्धार टोली भोटेकोशी त्रिशूली बाढी प्रभावित क्षेत्रका जलविद्युत आयोजनाको सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा र नुवाकोट क्षेत्रमा ती नदीमा बनेका र निर्माणाधीन जलविद्युत आयोजनाका संरचना बगाएका छन् । ती आयोजनामा कार्यरत प्राविधिक, कर्मचारी र कामदारहरु आयोजनाका सुरुड.मा पसेर ज्यान जोगाएको अनुमान गरिएको छ ।
यसरी सुरुड.मा बसेका आयोजनाका कर्मचारी र कामदारहरु सुरुड.को मुखबाट बाढीको लेदो पसेकोले बाहिर निस्कन पाएका छैनन् । सुरुड.भित्रै फसेका कामदार,प्राविधिक र कर्मचारीलाई शीघ्र उद्धार गर्न आवश्यक परेकोले सरकारले छिमेकी मुलुक भारत र चीनसंग सुरुङ उद्धारका विज्ञ र अनुभवी व्यक्तिहरुलाई पठाइदिन अनुरोध गरेको थियो । भारतबाट यस्तो विज्ञ टोली शनिवार काठमाडौं आइपुगेको हो ।
भारतबाट शनिवार बिहान सहायता सामग्री तथा ११ सदस्यीय चिकित्सा र सुरुङ उद्धार टोलीसहितको उडान काठमाडौँ अवतरण गरी प्रभावित क्षेत्रमा खटिएको छ ।
नेपाल सरकारले शनिवार नै उद्धार कार्य जारी रहेकाले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्ने, प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको स्थान पत्ता लगाउन सहयोग गर्ने प्रविधि सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको जनाएको थियो ।
दुवै छिमेकी मुलुकले नेपालमा आइपर्ने यस्तै ठूला विपद्मा तत्काल सक्दो सहयोग गर्दै आएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी आएकै दिन भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन कुराकानीमा नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनुभएको थियो ।