काठमाडौं, १४ भाद्र । मित्र राष्ट्र भोटेकोशी त्रिशूली बाढी पिडितको सहयोगका लागि पठाएको चौथो खेप उद्धार तथा राहत सामग्री नेपाल आइपुगेको छ ।
भारतीय विदेश मन्त्री डा. एस जयशंकरले ११ टन सहयोग बोकेर नेपालमा चौथो राहत उडान पठाइएको बताउनुभएको छ। भारतीय वायुसेनाको सी १३० विमानले खोज तथा उद्धार कार्यका लागि विशेष उपकरणहरू सहितको सुरुङ प्राविधिक टोली, फोरेन्सिक विशेषज्ञहरू र डीएनए विश्लेषणका लागि उपकरणहरू ढुवानी गरेको हो ।
यो खेपमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक र स्वच्छता किटहरू पनि समावेश छन्।
यसैबीच, २३० फिटको सिंगल लेन मोड्युलर स्टील पुलका लागि उपकरणहरू बोकेका १६ ट्रकहरू नेपाल आइपुगेका छन् ।
भारतले सात थप बेली ब्रिजका लागि उपकरणहरू चाँडै आपूर्ति गरिने जनाएको छ। तिनीहरूको स्थापनाका लागि प्राविधिक टोलीहरू पनि चाँडै आउने अपेक्षा गरिएको छ।
भारतले हालसम्म आवश्यक औषधि, पोर्टेबल जेनेरेटर, खाद्य प्याकेट, पानी शुद्धीकरण ट्याब्लेट र प्राविधिक उपकरणहरू सहित ६८.५ टन राहत सामग्रीहरू काठमाडौंमा हवाई मार्गबाट पठाएको छ।
भारतले नेपालको जारी उद्धार र राहत कार्यका लागि आफ्नो सहयोग जारी रहने बताएको छ।








