-प्रकाश सिलवाल / रासस
काठमाडौँ, १८ भदौः दुवै छातीमा चित्रमय ट्याटु । आँखामा कालो चस्मा । चम्किलो अनुहार । हेर्दा आकर्षक लाग्ने यही तस्बिर अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–७ निवासी शिशिर बस्नेतका आफन्तका लागि आशा र पीडाको प्रतीक बनेको छ । दिनहरू जति बित्दै जान्छन्, त्यति नै आफन्तको मन अमिलो र अनुहार निन्याउरो हुँदै गएको छ ।
बस्नेतको त्यही तस्बिर बोकेर उहाँका आफन्त आठ दिनदेखि अस्पताल, प्रहरी कार्यालय र सम्भावित खोजीस्थलमा भौँतारिइरहनुभएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका समयमा सम्पर्कविहीन हुनुभएका बस्नेतको खोजीको प्रयास रोकिएको छैन ।
टोलीसहित गोसाइँकुण्ड यात्रामा जानुभएका शिशिर बाढीपछि परिवारको सम्पर्कमा नआएपछि खोजीको गर्नुको अर्काे विकल्प पनि छैन । आठ दिन बितिसक्दा पनि परिवारले उहाँ भेटिनुहुने आशा बोकिरहेको छ । “उहाँलाई देख्नुभएको वा उहाँका बारेमा कुनै जानकारी पाउनुहुने महानुभावले कृपया परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोला,” शिशिरको तस्बिरसहितको सूचनामा भनिएको छ ।
उहाँका आफन्तले शिशिरको तस्बिरसहितको सूचना काठमाडौँको ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका स्थानमा टाँसेका छन् । बाढी तथा पहिरोपछि शव सङ्कलन तथा पहिचान भइरहेका नुवाकोट, चितवनलगायतका स्थानमा समेत आफन्तहरू पुगेर खोजी गरिरहेका छन् ।
“हामी अझै आशावादी छौँ । सबैलाई खोजखबरका लागि आग्रह गर्दछौँ,” ट्रमा सेन्टरमा भेटिनुभएका शिशिरका जेठा तथा माइला दाइ र परिवारका सदस्यले एकैसाथ भन्नुभयो, “शिशिरको सम्झना कति हुन्छ कति । आँखामा आँसुको धारा बोकेर हिँडेका छौँ । सबै अस्पतालदेखि चितवनसम्म परिवार र आफन्तलाई खोजीका लागि पठाएका छौँ । दुःख छ, पीडा छ तर खोजतलास जारी राखेका छौँ । सबै नेपालीले सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।”
शिशिरजस्तै बाढीपछि सम्पर्कविहीन भएका आफ्ना आफन्तको खोजीमा अन्य परिवार पनि दिनरात लागिरहेका छन् । रसुवाको हाकुबेँसीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा कार्यरत सङ्गम थापा घर्तिमगर पनि बाढी आएको समयदेखि सम्पर्कविहीन हुनुहुन्छ ।
बाँकेको नौबस्ता निवासी २२ वर्षीय घर्तिमगर आयोजनास्थलबाट करिब १५ किलोमिटर टाढा रहेको स्थानमा अन्तिमपटक मोबाइल सम्पर्कमा रहनुभएको उहाँका आफन्त छविलाल थापा मगरले बताउनुभयो । बाढी आएपछि उहाँसँग सम्पर्क हुन सकेको छैन ।
“मेरो मामा रमेश घर्तिमगरको एक्लो छोरा हो । २२ वर्षीय भाइलाई सबैतिर खोजिरहेका छौँ । अहिलेसम्म कुनै सम्पर्क वा सङ्केत मिलेको छैन,” छविलालले भन्नुभयो ।
बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएपछि त्यहाँ कार्यरत, यात्रा तथा अन्य प्रयोजनले पुगेका कतिपय व्यक्ति बेपत्ता भएका छन् । उनीहरूका परिवारजन भने आफन्त भेटिने आशामा अस्पतालदेखि सम्भावित घटनास्थलसम्म पुगिरहेका छन् ।
रसुवा बाढी आएसँगै बेपत्ता अवस्थामा रहनुभएका पत्रकार टेकराज थामी पनि बाढी आएको क्षेत्र रसुवागढीबाट हालसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन । उहाँकी श्रीमती एवं राससकर्मी कालिका खड्का श्रीमान्को खोजीका लागि सम्भावित स्थान र निकायमा पुगिरहनुभएको छ । नयाँ पत्रिका दैनिकमा कार्यरत थामी चीनको केरुङमा हुने एक कार्यक्रमका लागि रसुवागढी हुँदै त्यसतर्फ जानेक्रममा हुनुहुन्थ्यो । पत्रकार थामीको खोजीका लागि नेपाल पत्रकार महासङ्घ, रासस, नयाँ पत्रिका तथा पत्रकारसम्बद्ध विभिन्न संस्थाका तर्फबाट सम्बन्धित निकायमा खोजीको पहलका लागि आग्रह हुँदै आएको छ । सरकारका तर्फबाट रसुवागढी क्षेत्रमा समयमै विशेष खोजी र उद्धारको पहल अपेक्षा गरिएअनुसार नभएको गुनासोसहित खोजी तथा उद्धार प्रयासलाई निरन्तरता दिन बेपत्ताका परिवारका तर्फबाट आग्रह गरिएको छ ।
विपद्को पीडासँगै बेपत्ता आफन्तको खोजीमा उहाँको परिवारले पनि दिनरात बिताइरहेको छ । बाढीको पानी घट्दै गए पनि बेपत्ता आफन्तको प्रतीक्षा गरिरहेका परिवारको पीडा भने झन् गहिरिँदै गएको छ । अस्पतालका शवगृह, प्रहरी कार्यालय, नदी किनार र सम्भावित घटनास्थलमा आफन्तको तस्बिर बोकेर पुग्ने परिवारजनको एउटै प्रश्न छ, “हाम्रो मान्छे कहाँ हुनुहुन्छ ?”
समय बित्दै जाँदा खोजी कठिन बन्दै गए पनि परिवारले आशा छाडेका छैनन् । कसैले दिएको एउटा सूचना, अपरिचित व्यक्तिले पठाएको एउटा तस्बिर वा कुनै सानो सङ्केतले पनि बेपत्ता आफन्तसम्म पुग्न सकिने आशामा उनीहरू निरन्तर खोजीमा छन् ।
विपद्का बेला उद्धार, राहत र पुनःस्थापनासँगै बेपत्ता व्यक्तिको खोजी तथा पहिचान पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । बेपत्ता परिवारजनले सरकारी निकाय, सुरक्षा निकाय, अस्पताल तथा सर्वसाधारणसँग बेपत्ता आफन्तको खोजीमा समन्वय र सहयोग गरिदिन आग्रह गरेका छन् ।
बाढीले घर, संरचना र भौतिक सम्पत्ति बगाए पनि त्यसको क्षति कुनै न कुनै रूपमा आँकलन गर्न सकिन्छ । तर आफन्त बेपत्ता हुँदा परिवारले भोग्नुपरेको अनिश्चितता र प्रतीक्षाको पीडा मापन गर्न कठिन हुन्छ । त्यसैले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै बेपत्ता व्यक्तिको खोजीलाई थप तीव्र र व्यवस्थित बनाउनुपर्ने आवाज उठिरहेको छ ।