Prakash Adhikari November 23, 2018

 

जेनेभा(स्वीजरल्याण्ड), ७ मंसिर (बीबीसी) । पृथ्वीको तापक्रमवृद्धिमा विशेष भूमिका भएका ग्यासहरूको मात्रा सन् २०१७ मा सबैभन्दा बढी देखिएको छ।

वर्ल्ड मिटिअरोजिकल अर्गनाइजेशनले हरितगृह ग्याससम्बन्धी आफ्नो वार्षिक बुलेटिनमा हरितगृह ग्यासको मात्रा बढ्ने क्रम घट्ने सङ्केत नदेखिएको जनाएको छ।

सन् २०१७ मा कार्बन डाइअक्साइडको मात्रा ४०५ पीपीएम पुग्यो। यो मात्रा पृथ्वीको वातावरणमा विगत ३०-५० लाख वर्षमा कहिल्यै पुगेको थिएन।

मात्रा कति?

अनुसन्धानकर्ताहरूले सीएफसी-११ नामक एउटा प्रतिबन्धित ग्यास फेरि देखिन थालेको जनाएका छन्।

केही हरितगृह ग्यासहरू समुद्र, भूमि र रूखहरूले सोस्छन्। त्यसैले वातावरणमा बाँकी उत्सर्जन भएका ग्यासहरूको मात्रा मात्र मापन गर्न सकिन्छ।

सन् १९९० यता यी ग्यासहरूको मात्रा ४१ प्रतिशतले बढेको छ।

पुरानो तथ्याङ्कसँग तुलना

वातावरणमा सन् २०१७ मा कार्बन डाइअक्साइडको मात्रा औद्योगिक क्रान्ति हुनु अगाडिको समयभन्दा १४६ प्रतिशतले बढेको छ।

डढेलो
जलवायु परिवर्तनका कारण डढेलोका घटना बढ्न सक्छन्

सन् २०१५ बाट २०१६ सम्म भएको वृद्धिभन्दा सन् २०१६ बाट २०१७ मा भएको वृद्धि अलिक थौरै छ। तर त्यो अघिल्लो दशकको औसत वृद्धिदरनजिक छ।

वर्ल्ड मिटिअरोजिकल अर्गनाइजेशनका वैज्ञानिकहरूका अनुसार वातावरणमा अहिले देखिएको कार्बन डाइअक्साइडको मात्रा लाखौं वर्षपछि फेरि देखिएको हो।

सो संस्थाका महासचिव पेट्टरी टालासका अनुसार पृथ्वीमा ३० देखि ५० लाख वर्षअगाडि कार्बन डाइअक्साइड लगभग सोही मात्रामा पुगेको थियो।

उनी भन्छन्, “त्यतिबेला तापक्रम अहिलेको भन्दा २-३ डिग्री सेन्टिग्रेड बढि थियो र समुद्र सतह १०-२० मिटर माथि थियो।”

सन् २०१७ मा किन धेरै बढेन?

सन् २०१५ र २०१६ मा उत्कर्षमा पुगेको ‘एल निनो’ नामक मौसमी घटनाको प्रभावका कारण सन् २०१७ मा कार्बन डाइअक्साइडको मात्रा धेरै बढेन।

एल निनोले गर्दा विश्वका केही भागहरूमा खडेरी परेको थियो।

प्रभावस्वरूप वन र वनस्पतिको कार्बन डाइअक्साइड सोस्ने क्षमता घटेकाले सो ग्यास धेरै मात्रामा वातावरणमा रहन पुगेको थियो।

यो सानो वृद्धिले प्रगति भएको सङ्केत गरेको हो त? खासै हैन।

वातावरणको रासायनिक परीक्षण गर्दा वैज्ञानिकहरू चिन्ता व्यक्त गर्छन्।

कोइला प्रयोग गर्ने भट्टी
कोइला बाल्ने उद्योगबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ

उनीहरू परिस्थिति विपरीत दिशातरि जाँदै गरेको बताउँछन्।

कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडलाई जलवायु परिवर्तनका लागि मुख्य जिम्मेवार ग्यास मानिन्छ।

युनिभर्सिटी अफ इस्ट एङ्लियाकी प्राध्यापक कोरिन लो क्वेरे यी तीन हरितगृह ग्यास अनियन्त्रित रूपमा बढ्दै गएकोमा आफू चिन्तित भएको बताउँछिन्।

ओजन तह
एन्टार्टिकामाथि ओजन तहमा सन् २००० मा बनेको प्वाल

उनी भन्छिन्, “कार्बन डाइअक्साइडको मात्रा अहिले ४०० पीपीएमभन्दा अलिकति माथि छ, म जन्मिँदा ३२१ पीपीएम थियो। यो मान्छेको जीवनकालमा हुने ठूलो वृद्धि हो।”

अहिले क्लोरोफ्लोरो कार्बन-११ ग्यास फेरि वातावरणमा पाइनुलाई वैज्ञानिकहरूले दु:खद मानेका छन्।

सो ग्यासले ओजन तह बिगारेर तापमानवृद्धिमा सघाउँछ।

Share Now

Leave a comment.