काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नवगठित कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको संयुक्त सरकार देशको विकास गरी समृद्ध बनाउन र जनतालाई भरपर्दो सुविधा दिएर सुखी बनाउन असफल भैसकेको निस्कर्ष निकालेको छ ।
कम्युनिष्ट सरकार गठनको ९ महिना पुगेको अवसरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वितेका ९ महिना मुलुकमा सरकार भएको अनुभूति समेत जनताले गर्न नपाएको बताउनुभयो ।
वर्तमान सरकारको समीक्षा गर्दै कांग्रेस नेता शर्माले सत्तामा आएको ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ र भन्ने अवस्था सिर्जना भएको बताउदै कारुणिक भावमा सोध्नुभयो छ भने कहाँ छ ?
नेपाली कांग्रेसले सरकारले लोकतान्त्रिक पद्धति र संस्कारको विकास गर्न सरकार पूर्ण रुपमा असफल भएको,े रष्ट्रवाद जस्तो संवेदनशील विषयलाई चुनाव जित्ने हतियारमात्र बनाइएको प्रमाणित भएको, संघियतालाई असफल बनाउन सरकार अग्रसर रहेको, सुशासन नारामा सीमित भएको,महंगी अनियन्नित्रत तवरले बढेको,शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजुक रहेको,न्यायालयको तेजोबध गरिएको,संविधान संशोधनको विषय ओझेलमा पारिएको,समृद्धिको यात्रा नारामा सीमित भएको,अपारदर्शिताको सुरुआत प्रधानमन्त्रीको कार्यालय र मन्त्रिपरिषद्बाटै सुरु भएको, संघीयताको मर्म वितरित विकासका सवै ठुला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी गरिएको र प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरि अधिनायकवादतर्फ लैजान खोजिएको जस्ता गम्भीर आरोप पनि लगाएको छ ।
नेपाली कांग्रेसले नेपाल वायुसेवा निगमले ल्याएको वाइड बडीका जहाज खरिदमा भएको अनियमितता र आर्थिक घोटालाको गहिरो छानविन गर्न केन्द्रीय समितिको असोज २१ को वैठकबाट गरिएको मागलाई पुनः दोहोर्याएको छ ।
कांग्रेसले कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्याको छानवीन गरी दोषी पत्तालगाउन सरकारले गरेको आनाकानीमा पनि प्रश्न उठाउदै उनका मातापिता डेढ सातादेखि निरन्तर धर्नामा बसेर न्यायको माग गरिरहेको उल्लेख गर्दै सोधेको छ के ओली राज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भई सकेको हो ?
महासमिति वैठक पार्टी कार्यालयमा
नेपाली कांग्रेसले यही मंसीर २८ देखि पुष ३ सम्म काठमाण्डौमा हुने नेपाली कांग्रेसको महासमिति वैठकको तयारी तिव्र गतिमा भरहेको र महासमितिमा प्रस्तुत गरीने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक नीतिका सम्वन्धमा प्रदेश स्तरीय अलगअलग छलफल सम्पन्न भएका छन् भने पार्टीको विधानमा समसामयीक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले सुझाव संकलन भैसकेको जनाएको छ ।
महासमितिमा प्रस्तुत गरिने दस्तावेजमा केन्द्रीय समितिका सदस्यसंगै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,, जिल्ला नेतृत्व, भातृ एवं शुभेच्छुक संस्थाको नेतृत्व तथा शुभचिन्तक वुद्धिजीविहरु समेतको विचार समाविष्ट हुने कांग्रेसले स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता शर्माले दिनुभएको जानकारी अनुसार महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्षको प्रतिवेदन आन्तरीक तयारीको अन्तिम क्रममा छ ।
महासमिति वैठक तयारीकै विषयमा केन्द्रीत रहेर मंसीर ९ गते केन्द्रीय समितिको वैठक वोलाएको छ भने विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा वैठकमा पेश हुने जनाइएको छ ।
कांग्रेसले महासमितिको वैठक नेपाली कांग्रेस केन्द्रीय कार्यालयको प्राङगणमै गर्ने निश्चित गरेको छ ।


















