Prakash Adhikari January 11, 2019

काठमाडौं, २७ पुस । आफ्नो सम्पूर्ण जीवन नेपाल राष्ट्रको निर्माणमा समर्पित गर्नुभएका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको संझनामा पुस २७ गते शुक्रत्रार देश विदेशमा पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा पृथ्वी जयन्तीका उपलक्ष्यमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र मन्त्रीहरुसहित विपक्षी दलका नेताहरुको सक्रिय उपस्थिति र सहभागिता रह्यो भने प्रधानमन्त्री केपी शर्मा ओली पुस २६ मा आयोजित कार्यक्रममा सरिक हुनुभयो ।

पृथ्वीनारायण शाहले पहाडमा अवस्थित सानो गोर्खालाई विस्तार गरेर नेपाल राष्ट्रको निर्माण मात्र गर्नुभएन् यसलाई अझ विस्तार गरी विशाल नेपाल बनाउने आधारभूमि पनि तयार गर्नुभयो, जसलाई उहाँका उत्तराधिकारीहरुले लामोसमयसम्म कायम गरेर नेपालको सीमाना पूर्वमा तिष्टा र पश्चिममा काँगडा,दक्षिणमा मगधसम्म पुग्यो ।

दूरदर्शी राष्ट्र निर्माता पृथ्वीनारायणले आफूले आज्र्याको राज्यलाई कसरी सुरक्षित राख्ने र राज्यका जनतालाई कसरी सुन्तुष्ट राख्ने भन्नेमा सूत्रबद्ध रुपमा दिब्योपदेश दिएर ५२ बर्षको उमेरमा देहत्याग गर्नुभएको थियो ।

प्रधानमन्त्री पृथ्वीका उपासक कि भ्रष्टाचारीका संरक्षक !

पृथ्वीनारायण शाहलाई शूर,बीर,दूरदर्शी, कुशल शासक र कुटनीतिज्ञ पनि मानिदै आएको छ । उहाँको’ निञानिसाप बिगार्ने भन्याका घुस् दिन्या र घुष षान्या हुन्, ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, इ राजा (राज्य) का महासतुर हुन्।’ ‘ भन्ने उहाँको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।

प्रधानमन्त्री ओलीले पनि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्दा र प्रधानमन्त्री बनेपछि लामोसमयसम्म सुशासन र भ्रष्टाचार विरुद्धको शून्यसहनशीलताको बारेमा लामो बखान गर्दै आउनुभएको थियो । तर केही दिन अगाडि भने उहाँलाई भ्रष्टचारी, घुसखोर र दलालहरुको संरक्षकको रुपमा उभ्याइयो । संसदको सार्वजनिक लेखा समितिले नेपालको सार्वजनिक खरिदको इतिहासमा भएको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डका खलनायकहरुलाई जोगाउन एक न्यायिक आयोग नै गठन गर्नुभयो ।

लज्जाजनक विषय र पृथ्वीनारायण जस्ता आफ्नो परिवारका सदस्यहरुलाई नै राज्य निर्माणको युद्धमा होम्ने र राज्य सञ्चालन समावेशी ढंगले गर्ने दूरद्रष्टा व्यक्तिको संझनाका गरिएका कार्यक्रममा उहाँले भ्रष्टाचार र आर्थिक अनियमिततामा पोलिएका मन्त्रीहरुलाई नै काखी च्यापेर बस्नुभयो । आफूलाई सुशासनका जनकको आवरणमा चिनाउन खोज्ने प्रधानमन्त्री ओलीलाई भ्रष्ट,तस्कर,माफिया र अन्य अपराधमा संलग्न व्यक्तिहरुलाई बटुलेर सदाचारका भाषण गर्न लगाइएको छ, र सतिले श्राप दिएको नेपालमा दीनदुःखी नेपाली त्यस्ता भाषण सुन्न बाध्य छन् । प्रधानमन्त्रीलाई भ्रष्टाचारी, तस्कर र अपराधी जोगाउन दिइएको खलनायकी भूमिका पछि भ्रष्टाचारमा पोलिएका र अपराधमा मुछिएकाहरुको गर्जन सुनिनसक्नु गरि गुञ्जिएको छ । यसको माध्यम चौथो अंगको नाममा खुलेका सञ्चारगृह र तिनका प्रकाशनहरु हुन पुगेका छन् ।

आजभन्दा ३ सय बर्ष पहिले नै पृथ्वीनारायणले राज्यमा न्यायनिसाफ दिने कुरालाई सर्वोपरि राखेको देखिन्छ । ‘अन्याय मूलुकमा हुन नदिनू ‘भन्ने उहाँ‘को दिव्योपदेशले न्यायको महत्व र स्वतन्त्र र निश्पक्ष न्यायको आधारशिला देखाउछ । देशमा रहेको, जातीय भाषिक र सांस्कतिक विविधतालाई ध्यानमा राख्दै उहाँले दिएको ‘अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू ।’ भन्ने उपदेशले समावेशिताको सिद्धान्त ३ सय बर्ष पहिले नै अभ्यासमा आएको छनक दिन्छ । यो विगत एक दुर्ई दशक यताको हिंसात्मक आन्दोलनको उपज नभएको स्पष्ट पार्दछ ।

 

पृथ्वीनारायणलाई नेपालका शासकहरुमध्ये उत्तम कुटनीतिक ज्ञान भएको शासकको रुपमा पनि कुटनीतिक क्षेत्रमा लिइने गरिन्छ । ‘उप्रान्त यो राज्य दुइ ढुङ्गाको तरुलजस्तो रहेछ । चीनका बादशाहसित ठूलो घाहा (संझौता) राख्नू । दक्षिणका बादशाहसित घाहा त राख्नू तर त्यो महाचतुर छ, हिन्दुस्तान दबाइरहेछ । सरजमीनमा पारिरहेछ । हिन्दुस्तान मिल्यो भने कठीन पर्ला भनी किल्ला खोज्न आउनेछ।’ भन्ने उहाँको दिव्योपदेश आजपनि उत्तिकै सान्दर्भिक रहेको देखिन्छ ।

देशको बारेमा उहाँले दिनुभएको ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, चार वर्ण छत्तीस जातको पूmलबारी हो, सबलाई चेतना भया” भन्ने उपदेशले सबै राष्ट्रभक्त नेपालीको रगत तातेर आउछ ।

प्रधानमन्त्रीको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरूप अघि बढिरहेको दावी गर्दै अधिकारसम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तीका अवसरमा शुभकामना दिँदै उहाँले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताउनुभयो। ‘शाहको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो। पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन’, प्रधानमन्त्रीले सन्देशमा भन्नुभयो, ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन।’

‘उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिकलगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार गर्नुभयो’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो। आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ।’ संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने छ ।’
प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, ‘पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्णताप्रति हामी सदैव गौरव गर्छौँ।’

पृथ्वी जयन्तीको सुरुआत

शाह बंशका राजा पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) लाइ नेपालका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको निर्माण गरेको श्रेय जान्छ । उहाँको जन्म दिवस पुष २७ गतेलाई राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ। यसको अग्रसरता योगी नरहरीनाथले लिएको देखिन्छ । नेपालमा प्रजातन्त्रको उदय भएपछि योगी नरहरिनाथले २००९ सालदेखि सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेको बताइन्छ ।

पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल-अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहको वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहान्त भयो ।  वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो । नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही उहाँको पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज( एङ्गलो-नेपाल) युद्ध (१८१४–१६)पछि लाग्यो ।

Share Now

Leave a comment.