
धनगढी(कैलाली),२९पुस( रासस) । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
धनगढी विमानस्थलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे ।
“मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने । सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिने बताए ।