काठमाडौँ, ४ माघ । नपाली कांग्रेसका पुराना नेता तथा सम्मति मासिकका सम्पादक तथा प्रकाशक केशव रेग्मीको निधन भएको छ ।
कास्की कांग्रेसको पूर्व सचिव रेग्मीको बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार गर्दा पनि स्वास्थ्यस्थितिमा सुधार नआउनेदेखिए पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।
पशुपति आर्यघाटमा शुक्रबार बिहानै उहाँको अन्त्येष्टि गरिएको थियो । उहाँको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य रहनुभएका रेग्मीले नेपाल विद्यार्थी सङ्घको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। प्रजातन्त्र स्थापनाका लागि देशमा भएका आन्दोलनहरुमा सहभागी हुँदा पटकपटक गरी उहाँले पाँच वर्ष जेलजीवन बिताउनुभएको थियो ।
ेनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०२३ सालमा गण्डकी छात्रा समिति गठन गर्दा केशव रेग्मीको योगदान अविश्मरणीय रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘उहाँको सक्रियतामा गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि संझना छ । उहाँ गण्डकी छात्रा समितिको सदस्य पनि हुनुभएको थियो । पछि नेपाल बिद्यार्थी संघको स्थापना गर्दा पनि केशव जी हाम्रो साथमा हुनुहुन्थ्यो’ पौडेलले जारी गरेको शोक वक्तब्यमा भनिएको छ–‘मैले बिद्यार्थी कालमा केशव जीसंग धेरै समय बिताएको छु । बिद्यार्थी राजनीति मात्र होइन जेलमा समेत केशव जीसंगै धेरै समय विताएको छु । नेपाली कांग्रेसको राजनीतिमा अविचलित भई लामो समयसम्म नेपाली कांग्रेसलाई केशव जी आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने नेता हुनुहुन्थ्यो ।’
उहाँको पोखराको विन्धवासिनी मिरुवास्थित निवास पञ्चायतकालमा नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुकोलागि आश्रयस्थल नै बन्ने गरेको बताइन्छ ।
स्नातक भएपछि पनि पञ्चायतमा जागीर नखाने प्रतिबद्धता गरेर बस्नुभएका सम्पन्न परिवारका रेग्मी प्रतिवन्धित कालमा नेपाली कांग्रेसका शिर्ष नेताहरु जेलपर्दा उहाँहरुलाई मिठाई ,मासु र स्वादिष्ट परिकार लिएर चाडपर्वहरुमा पुग्ने गर्नुहुन्थ्यो ।
स्वेच्छाले उदारतापूर्वक प्रजातान्त्रिक आन्दोलनमा समर्पित रहदै आउनुभएका रेग्मीले आफ्नै प्रयासमा ‘सम्मति”नामक मासिक पत्रिका पनि सम्पादन र प्रकाशन गर्दै आउनुभएको थियो ।


















