
काबुल(अफगानिस्तान),८ माघ (बीबीसी) । तालिबान लडाकुहरूले अफगानिस्ताको राजधानी काबुल नजिकै रहेको सैनिक सूचना केन्द्रमाथि हमला गर्दा कम्तीमा ६५ जना मारिएको अधिकारीहरूले बताएका छन्।
घटनामा अन्य कैयौँ घाइते भएको न्याशनल डाइरेक्टरेट अफ सेक्युरेटीले बीबीसीलाई बताएको छ।
आक्रमणकारीहरूले कारमा राखिएको बम विस्फोट गराउँदै केन्द्रमा प्रवेश गरेको र गोली चलाउन थालेको बताइएको छ।
यो अफगानिस्तानमा गुप्तचर संस्थामाथि भएको हिंसात्मक आक्रमणमध्येको एक हो।
बढ्दो आक्रमण
अफगान सेनाविरुद्ध हालैका दिनहरूमा तालिबान विद्रोहीहरूले यस्ता आक्रमण तीव्र बनाएका छन्।
कतारमा तालिबान-अमेरिका वार्ताको केही घण्टाअघि वारडेक प्रान्तमा यो आक्रमण भएको हो।
काबुलबाट ३० किलोमिटर दक्षिणपश्चिममा रहेको आक्रमणमा परेको केन्द्र सरकारको पक्षधर शक्तिको तालिमस्थल हो।
आक्रमणकारीले विस्फोटक भरिएको एउटा गाडीबाट मूलद्वारमा आक्रमण गरेपछि कम्तीमा दुईजना बन्दुकधारीले गोली चलाउन थालेका थिए।
दोस्रो गाडी पनि विस्फोट गराउन तयार राखिए पनि अफगान सैनिकहरूले आत्मघाती आक्रमणकारीहरूलाई मारिदिएर असफल बनाएको बताइएको छ।
तालिबानले अफगान सेनामाथि आक्रमण गरी १९० जना मारेको दाबी गरेको छ।
तलिबानले मर्नेहरूको सङ्ख्या बढाएर दाबी गर्ने गरेका छन्।
आक्रमणमा मारिएका धेरै जना कार बम विस्फोट हुँदा केन्द्रको भत्किएको छानाले किचिएका थिए।