Prakash Adhikari January 27, 2019

दक्षिण-पूर्वी ब्राजिलस्थित एउटा ढुङ्गा तथा खनिज खानीको बाँध भत्किएपछि करिब तीन सयजना हराइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

ब्रासिलिया(ब्राजिल),१३ माघ(बीबीसी) ।बाँध भत्किएपछि आएको हिलोसहितको बाढीले चमेनागृहमा खाइरहेका कामदारलाई बगाएको थियो।

उद्धारकर्ताको टोलीले मिनज जराइस राज्यको ब्रुमाडिनो नगरनजिकै पर्ने उक्त क्षेत्रमा माटो पन्छाउने यन्त्र प्रयोग गरिरहेका छन्।

राज्यका गभर्नरले जीवित मानिसहरू फेला पर्ने सम्भावना न्यून रहेको बताएका छन्। अहिलेसम्म नौजनाको ज्यान गएको पुष्टि भएको छ।

क्षति
ब्राजिलको सबैभन्दा ठूलो खानी कम्पनी भालीको बाँध किन भत्कियो भन्नेबारे अझै स्पष्ट भएको छैन।

मिनज जराइसस्थित मारिआनामा रहेको एउटा बाँध भत्किएको तीन वर्षपछि यो अर्को बाँध भत्किएको हो।

अघिल्लो बाँध भत्किँदा १९ जनाको ज्यान गएको थियो र त्यसलाई ब्राजिलको सबैभन्दा खराब विपद् भनिएको थियो।

बाढी
फेजो ढुङ्गा तथा खनिज खानी नजिकै रहेको बाँध शुक्रवार स्थानीय समय अनुसार १ बजेतिर भत्किएको थियो र त्यसमुनि रहेको अर्को बाँध बाढीले बगाएको थियो।

बाँध भत्किएपछि आएको बाढीले नजिकैका फार्महरू कटान गरेको छ र थुप्रै कामदारको घर र सवारीसाधनमा क्षति पुगेको छ।

ग्लोबो वेबसाइटले पछि उद्धारकर्ताहरूले भत्किएको बाँध नजिकैको प्रशासनिक क्षेत्रमा एक सयदेखि डेढ सयजना बेपत्ता भएको जनाएको थियो।

फसेका मानिसहरूलाई सडकमा क्षति पुगेका कारण हेलिकप्टरबाट उद्धार गरिएको थियो।

अवस्था
कम्पनीका प्रमुख कार्यकारीले तीन सयको हाराहारीमा रहेका कामदारमध्ये एक तिहाइको मात्रै अवस्था थाहा हुन आएको बताएका छन्।

स्थानीय अग्निनियन्त्रकहरूले पनि ती क्षेत्रमा तीन सयसम्म मानिसहरू बेपत्ता भएको बताएका छन्।

एउटा अस्पतालबाहिर कुरिरहेका २८ वर्षीय हेल्टन पेरेराले बीबीसीसँग भने, “म चिन्तित छु, मलाई सूचना चाहिएको छ।”

उनकी २८ वर्षीया श्रीमती र ३५ वर्षीया दिदी चमेनागृहमा कार्यरत थिए र त्यो भत्किएपछि उनीहरू हराइरहका छन्।

बाढी
एक सय अग्निनियन्त्रकले खोजी कार्य जारी राखिरहँदा फेरि एक सयजना थपिने ठानिएको छ।

गभर्नरले बाँचेकाहरू फेला पर्ने सम्भावना कम भएको र फेला परे पनि जीवित भेट्न मुस्किल हुने बताएका छन्।

सन् १९७६ मा उक्त बाँध निर्माण गरिएको थियो। शनिवार राष्ट्रपति हेलिकप्टरबाट प्रभावित क्षेत्र पुगेका छन्।

Share Now

Leave a comment.