
अमरगढी (डँडेल्घुरा), ५ बैशाख । सुदूरपश्चिम प्रदेशको डडेल्धुराका ऐतिहासिक,सांस्कृतिक, प्राकृतिक सम्पदाहरुको संरक्षण गदैं स्थानीय बासिन्दाहरुलाई आफ्ना गाँऊ र ठाँउको विकासमा सरिक गराएर समृद्ध बनाउने उद्देश्यले अजयमेरु गाँऊपालिकाको आयोजनामा अजयमेरु महोत्सवको आयोजना गरिएको छ ।
यही बैशाख ४ गते आरम्भ भएको महोत्सव बैशाख ८ सम्म चल्नेछ ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले एक विशेष कार्यक्रमका बीच सो महोत्सवको उद्घाटन गर्नुभएको थियो ।
आफ्नो उद्घाटन मन्तब्यमा मुख्य मन्त्री भट्टले सुदूरपश्चिम विकास र चेतनामा पछि परेकोले आफ्नो गाँऊ ठाँउको विकासको लागि सबै जुट्नु पर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम प्राकृतिक स्रोतसाधनको कुनै कमी नभए पनि केन्द्रीकृत राज्यप्रणालीले समान दृष्टि पुर्याउन नसक्दा पछाडि पर्नुपरेको बताउनु भयो ।
उहाँले देशमा संघीय शासन प्रणाली सुरु भएकोले अब विकासले गति लिने र त्यसको फल छिटा पाउनका लागि नागरिकहरु पनि मनैदेखि आफ्नो गाँउ ठाउ बनाउन प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
गन्यापधुरा गापाका अध्यक्ष नवल मल्लको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन शत्रका विशेष अतिथि राष्टिय योजना आयोगका सदस्य सुशील भट्टले महोत्सवको आयोजनाले अजयमेरुकोट जस्ता थुप्रै ऐतिहासिक स्थलको संरक्षण गर्ने, चौलो जस्ता मौलिक र परम्परागत नृत्य र संस्कृतिको संरक्षण र विकास गर्ने, स्थानीय नाचगान, बाजागाजा, भेषभूषा, भाषा साहित्यको संरक्षण गर्ने र युवाहरुमा खेलकूदप्रति आकर्षण जगाउन मद्दत गरेको बताउनुभयो ।
उहाँले महोत्सवले आफूलाई निकै उत्साही बनाएको उल्लेख गर्दै गाँऊको विकासको लागि पहिले गाँऊका स्रोत र साधनहरुको पहिचान आवश्यक भएको बताउदै तिनीहरुको सदुपयोग गर्ने उपायबाट नै विकासको यात्रा थालनी गर्न सकिने बताउनुभयो ।
अजयमेरुमा खानेपानीको सुविधा र होटल लज तथा होमस्टेको व्यवस्था गरेमा पर्यटनको विकास गर्न सकिने, सिंचाईको सुविधा विस्तार गरेमा अन्न,तरकारी र फलफूलमा आत्मनिर्भर बन्न सक्ने, खेल मैदान बनाएमा खेलकूद आयोजना गर्न सकिने अथाह सम्भावना भएको बताउनुभयो । अजयमेरु कोट जस्ता थुप्रै दर्शनीय स्थानहरु रहेको सो ठाँउमा पर्यटन विकासको उच्च संभावना रहेको पनि बताउनुभयो ।
उहाँले गाँऊमा नै अवसर सिर्जना गरेर अहिले भैरहेको बसाइँ सराई रोक्न सकिने र बाहिएका जनशक्तिलाई गाँऊमा आकर्षित गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले डँडेल्धुरा जिल्ला सांस्कृतिक सम्पदामा पनि धनी रहेको बताउनु भयो । डँडेलघुरामा देउडा मात्र हैन बडालको चलो नृत्य बडो प्रसिद्ध छ । परापूर्वकालमा देवता र राक्षस को युद्धमा देवताले राक्षसलाई पराजित गरी विजय उत्सवको रुपमा चौलो नृत्यको परम्परा विकसित हुँदै आएको बताइन्छ । पछि डोटी राज्यमा आफ्नो सैनिक शक्ति प्रदर्शन र युद्ध बिजयपछि बिजय उत्सवको अवसरमा चौलो नृत्य प्रदर्सन हुन थाल्यो । हिजोआज पनि देवताको जांत (पूजा) तथा विभिन्न शुभकार्यमा यो बीर रस पैदा गर्ने चलो नृत्य प्रदर्शन गरिन्छ।
अजयमेरु महोत्सवमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचनभट्ट,राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, सांसदहरु कर्ण मल्ल र गोविन्द वोहरा,नेपाल कम्युनिष्ट पार्टीका नेता खगराज भट्ट, जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्ट ,परशुराम नगरपालिकाका मेयर भिमबहादुर साउद, गन्यापधुरा गाँऊपालिकाका अध्यक्ष नवल मल्ल लगायतका प्रतिष्ठित व्यक्तिहरुका साथै जिल्लाका प्रशासनिक र सुरक्षा निकायका अधिकारीहरु पनि उपस्थित हुनुुहुन्थ्यो ।