Prakash Adhikari May 9, 2019

 

काठमाडौं,२५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संगठन सुधार र सरकारले गरेका गलत कामकारबाहीप्रति कार्यकर्ताहरुलाई जागरुक बनाउने उद्देश्यले बुधबार देशका ७७ वटै जिल्लामा एकसाथ राष्ट्रिय जागरण अभियान प्रारम्भ गरेको छ ।

यसै कार्यक्रम अन्तरगत राजधानी काठमाडौंमा आयोजना गरिएको कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको समयमा आफूले कम्युनिष्टहरुको बहुमत आएर सरकार बनाएमा देशमा अधिनायकवाद आउने र जनताले रुन समेत पाउदैनन भनेर भन्दा आशंका गर्नेहरुले अहिले सही बोल्नुभएको रहेछ भनेर भन्न थालेको बताउनुभयो ।


उहाँले संसदमा मंगलबार प्रधानमन्त्री र सभामुखले प्रतिपक्षी दलमाथि गरेको व्यबहारको कटु आलोचना गर्दै संसदमा प्रधानमन्त्रीले बोलेको असंसदीय शब्दलाई हटाउने हिम्मत समेत नगरेकोमा सभामुखलाई इतिहासकै कातर सभामुख भन्नुभयो ।

 

नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको बुधबार शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री देउवाले राणा शासन र राजा फालेका कांग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभयो ।

कांग्रेस सभापति देउवाले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै भन्नुभयो, बेलायतमा राजसंस्था छ र माई गभरमेन्ट भनिन्छ । हामीकहाँ गणतन्त्र आयो प्रथम राष्टपतिले नेपाल सरकार भन्नुभयो । एउटा परम्परा बसिसक्यो, अब फेरि राजाले मेरो सरकार भन्न पाउने राष्टपतिले किन नपाउने भन्ने कुतर्क झिक्ने ? के बेलायतमा हरमेष्टी क्वीन इलिजावेथ भने जस्तो हामीले पनि हर मेजेष्टी विद्या भण्डारी भन्ने ?

उहाँले नेपाली कांग्रेसको जन्म नै प्रजातन्त्रको स्थापना, विकास र संरक्षणको लागि भएकोले प्रजातन्त्र मास्न खोज्ने कम्युनिष्ट अधिनायकविरुद्ध लडेरै छाड्ने बताउनुभयो । उहाँले कांग्रेसको अगुवाईमा नै राणा शासन, पञ्चायत, निरड.कुशतन्त्र राजतन्त्रको अन्त्य भएको उल्लेख पनि गर्नुभयो ।

सरकारले न्यायालय,संबैधानिक अंग,विश्वविद्यालय र प्राज्ञिक क्षेत्र,कर्मचारीतन्त्र जताततै हस्तक्षेप गरेकोले अधिनायकवादी शासनलाई आन्दोलनबाटै फाल्न पनि कांग्रेस तयार रहेको दावी उहाँले दावी गर्नुभयो ।

उहाँले पार्टीको मंसिर पुसमा सम्पन्न महासमितिले विधानमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य तलबाट निर्वाचित भएर आउने कुरा मतदानबाट दुई तिहाईले पारित नभएर छलफलसम्म भएको बताउदै केन्द्रीय समितिमा जाँदा पाँच छ जना सदस्यबाहेक सबैले पूर्ववत राख्ने पक्षमा राय दिएकोले सो अनुरुप भएको बताउनुभयो । उहाँले विगतमा पनि यस्तै व्यवस्था रहेको बताउदै भन्नुभयो,गिरिजाबाबु र सुशील कोइराला पार्टी सभापति हुँदा केन्द्रीय सदस्य तलबाट लड्न नपर्ने व्यवस्थाको मान्य हुने अहिले नहुने किन ?

टुलुटुलु हेरेर बस्न सक्दैनौ  : सिंह

काठमाडौंको कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्टहरुको सरकार बन्नेवित्तिकै गृह अन्तरगतको अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री अन्तरगत ल्याएर अधिनायवादी शासनको अभ्यास गरिएको बताउदै भन्नुभयो, संविधानको भावना मिचिए हामी टुलुटुलु हेरेर बस्न सक्दैनौ ।

उहाँलेजागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेसले खेलेको भूमिका आम जनतामाझ पुयाउन जागरण अभियानले सहयोगीको भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले कांग्रेसमा आफूले गरेको कामको जस पनि लिन नसक्ने र कम्युनिष्टहरुले अरुले गरेको काम पनि आफूले गरेको भनेर जनतालाई भ्रमित पारेको बताउनुभयो ।

उहाँले पार्टीलाई जनताको सुख दुःखमा साथ दिने पार्टीको रुपमा विकसित गर्न आवश्यक भएको बताउदै पार्टीमा काखापाखा तेरो मेरो भन्ने भावना त्यागेर नियमअनुसार चलेमा कांग्रेस फेरी एक नम्बरको पार्टी हुने उहाँले बताउनुभयो ।

जागरण अभियान काठमाडौँका केन्द्रीय प्रतिनिधि एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपाली कांग्रेसले देशमा परिवर्तनको खाँचो महसूस भएपछि जागरण अभियान सञ्चालन गर्ने कांग्रेसको परम्परा रहेको र अहिले कम्युनिष्ट नेतृत्वको सरकारको अधिनायकवादी शैलीले लोकतन्त्र खतरामा पर्ने संभावना देखिएकोले त्यसविरुद्ध कार्यकर्तालाई संगठित र प्रशिक्षित गर्न जागरण अभियान थालिएको बताउनुभयो ।

अधिनायकवादको अभ्यास : खाँण

कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले जनताको प्रश्न संसदमा राख्न खोज्दा प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाउनुभयो ।

वर्तमान सरकार गठन भएको एक बर्षमा प्रधानमन्त्रीबाट शक्ति केन्द्रिकृत गरिएको, राष्टिय सुरक्षा परिषद्लाई निस्क्रिय बनाउदै प्रधान सेनापतिको सहभागिता नरहने गरि प्रधानमन्त्रीमा अधिकार सार्न खोजिएको, मानवअधिकार आयोगको अधिकार कटौती गर्न खोजिएको, सञ्चारको स्वतन्त्रतामा दखल दिइएको, संवैधानिक व्यवस्थालाई कुल्चदै संवैधानिक परिषद्बाट संवैधानिक आयोगहरु बनाउने जस्ता काम भएको फेहरित्त प्रस्तुत गर्नुभयो । उहाँले ३३ किलो सुन काण्ड, एनसेल काण्ड, वाइडबडी काण्ड जस्ता ठूला ठूला भ्रष्टाचार पनि यही समयमा भएको उल्लेख गर्दै शान्तिसुरक्षाको अवस्था नाजुक भएको पनि बताउनुभयो ।

उहाँले निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसक्नुको कारण सोध्दै मदन भण्डारीको निकट मित्र प्रधानमन्त्री र धर्मपत्नि राष्टपति भएको बेलामा पनि उहाँको हत्यारा को हो भन्ने कुरा सार्वजनिक नगरेकोमा प्रश्न गर्दै भन्नुभयो, दुर्घटनाका बेलामा यो हत्या हो र एमालेको सरकार बनेपछि हत्यारा सार्वजनिक गरिनेछ भन्नेहरु एमालेबाट चार चार जना प्रधानमन्त्री बन्दा पनि यस विषयमा मौनता साँधेकोमा प्रश्न उठाउनुभयो ।

उहाँले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने र सुशासनको गुड्डी हाँक्ने प्रधानमन्त्रीले बिहानदेखि बेलुकासम्म बालुवाटारमा भेट्ने मान्छेहरु को को हुन र कस्ता कस्ता गोप्य ठाँउमा मार्सीको भात खाँदै के गर्दै हिड्नु भएको छ भन्ने कुरा जनताले परिणाम हेरेरमात्र थाहा पाएको पनि बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको बताउँदै भन्नुभयो, “काँग्रेस नजागेसम्म भ्रष्टाचारमुक्त मुलुक बन्न सक्दैन ”

कार्यक्रममा काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाले पार्टीभित्र रहेको गुट उपगुटको अन्त्य गरी पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनु आवश्यक रहेको ंबताउनुभयो।उहाँले काठमाडौं जिल्लाको आफ्नो उदाहरण दिदैं जनताले विश्वास गरेका उम्मेदवारलाई टिकट नदिएर आफ्ना वरपरमात्र घुम्ने र भक्तिभाव गर्नेलाई टिकट दिदा कांग्रेसको पराजय भएको बताउदै पार्टी सबल बनाउन सभापति देउवालाई आग्रह गर्नुभयो । उहाँले अभिभावक सबल नभए परिवार विचलन हुने बताउदै भन्नुभयो, पार्टीसभापतिले सबैलाई समान ढंगले हेर्न सक्नुभएन भने पार्टीमा रगत र पसिना बगाएपछि मैले अवसर पाउछु भन्ने स्थापित गर्न सकिएन भने कार्यकर्तालाई आकर्षित गर्न सकिदैन । पार्टी बलियो हुँदैन ।

उहाँले पार्टीको महासमिति जस्तो माथिल्लो निकायले गरेको निर्णय केन्द्रीय समिति जस्तो तल्लो निकायले उल्ट्याएकोमा समेत असन्तुष्टी जनाउनुभयो ।

लोकतन्त्र खतरामा : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले सत्ताको दुरुपयोग गरेर लोकतन्त्र नै खतरामा परेको आरोप लगाउनुभएको छ।

जनकपुरधामबाट जनजागरण अभियानको उद्घाटन गर्दै पौडेलले नेकपा मात्र नभइ मधेशवादी दलहरूले पनि सत्ताको दुरुपयोग गर्नकै लागि राजनीति गरिरहेको आरोप लगाउनुभयो।

वर्तमान सरकारविरूद्ध आक्रामक रूपमा प्रस्तुत हुनुभएका पौडेलले मुलुकमा भ्रष्टाचार संस्थागत भइरहेकोले लोकतन्त्रको संस्थागत गर्ने कार्य प्राथमिकतामा पछि परेको दावी गर्नुभयो।

उहाँले लोकतन्त्रलाई संस्थागत गर्नका लागि कम्युनिस्ट सरकारविरूद्ध नेपाली जनता जाग्नु आवश्यक रहेको बताउनुभयो ।

पौडेलले विश्वको कुनै पनि ठाउँमा कम्युनिज्मले भलो नगरेको दाबी गर्दै नेपालमा पनि कम्युनिज्मले भलो गर्न नसक्ने दाबी गर्नुभयो ।

कम्युनिज्मले देशमा असुरक्षा, भोकमरी, अशान्ति जस्ता समस्यामात्रै निम्त्याएको उदाहरण भेनेजुयला भएको पौडेलले बताउनुभयो।

कार्यक्रममा पौडेलले मधेशवादी दलका नेताहरूलाई तपाईंहरू संविधान संशोधनको मुद्दा छोडेर किन केपी ओलीको चाकरीमा लाग्नु भएको छ भनेर प्रश्न गर्नुभएको थियो ।

ओली सरकार संघियता विरोधी : निधि

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले सङ्घीयता नचाहेको आरोप लगाउनुभएको छ ।

कैलालीको लम्कीमा आज राष्ट्रिय जागरण अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय सभाको उद्घाटन गर्दै उपसभापति निधिले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत सङ्घीयताका बारेमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस प्रशिक्षण विभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताका बीचमा जानका लागि पनि अभियान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमा काङ्ग्रेसका केन्द्रीय सदस्य तथा जागरण अभियान कैलालीका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले कम्युनिष्ट सरकारको अधिनायकवादी शैलीका विरुद्ध चेतना बढाउदै पार्टीको संगठन सबल बनाउन राष्ट्रिय जागरण अभियान आरम्भ भएको बताउनुभयो ।

 काण्डै काण्डको सरकार हो : महामन्त्री कोइराला

नेपाली कांगेसका महामन्त्री डा.शंशाक कोइरालाले कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार काण्डै काण्डमा मुछिएको बताउनुभएको छ ।

नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानलाई भैरहवामा सम्बोधन गर्दै उहाँले सञ्चारमाध्यम, न्यायपालिका, संवैधानिक निकाय र प्राज्ञिक क्षेत्रमा पनि निरन्तर हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

उहाँले बर्तमान सरकारको पालामा निर्मला हत्याकाण्ड, एनसेल काण्ड, वाइटवडी काण्ड, ३३ किलो सुन काण्ड, टुँडिखेल काण्ड लगायत थुप्रै काण्डहरु भएको आरोप लगाउनुभयो ।

उहाँले सरकार अधिनायकवादको गतल बाटोमा हिडेको भन्दै कांग्रेस खबरदारीमा लागिरहने बताउनुभयो ।

नेकपा सत्ता कब्जाको मार्गमा : डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको बताउनुभएको छ।

एक महिने राष्ट्रिय जागरण अभियानको काभ्रेमा बुधबार उद्घाटन गर्दै कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको बताउनु भयो ।

‘सरकार बने यताका गतिविधि हेर्दा प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत गर्ने र सत्ता कब्जा गर्ने खालको देखिन्छ,’ उहाँले भन्नुभयो।

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेकोमा उहाँले आपत्ति जनाउनुभयो ।

संसदमा प्रतिपक्षीलाई बोल्न नदिएको उहाँले सभामुख कृष्णबहादुर महराको पनि आलोचना गर्नुभयो ।

उहाँले पार्टीको संगठन सबल बनाउन सबै कार्यकर्तालाई आपसी मतभेद विर्सेर एकजुट हुन आग्रह गर्नुभयो।

जनजागरण अभियान संगठनका लागि : नेता रिजाल

Minendra Rijaको लागि तस्बिर परिणाम

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले काङ्ग्रेसले बुधबारदेखि शुरु गरेको देशव्यापी जनजागरण अभियान सत्ता प्राप्तिका लागि नभई संगठन सबल बनाउनकालागि भएको बताउनुभएको छ ।

जनजागरण अभियानअन्तर्गत बुधबार भक्तपुरको दुधपाटीमा आयोजित कार्यक्रममा उहाँले काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताउनुभयो । ।

नेता रिजालले काङ्ग्रेस आफैँ भित्रको कलहबाट बाहिर निस्केर बदलिनुपर्ने र सुध्रिनुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस नेत्री रजनी जोन्छे र काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जनताको चाहनाअनुरुप सरकारलाई काम गर्न दबाब दिनका लागि काङ्ग्रेसले अभियान चाल्नु परेको बताउनुभयो ।

काङ्ग्रेसलाई बलियो बनाऔँ : जोशी

 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जागरण अभियानमार्फत पार्टीलाई बलियो बनाउने सङ्कल्प गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ ।

काङ्ग्रेसले बुधबारदेखि देशव्यापी रुपमा थालेको राष्ट्रिय जागरण अभियानको तनहुँको दमौलीमा उद्घाटन गर्दै जोशीले पार्टीभित्र भएका असहमति र वैमनस्यतालाई अन्त्य गरी काङ्ग्रेसलाई बलियो बनाउन दृढ सङ्कल्प सबैले गर्न आवश्यक रहेको बताउनुभयो ।

काङ्ग्रेस–काङ्ग्रेसबीचको द्वन्द्वले पार्टी कमजोर हुँदै गएकाले भोलि देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काङ्ग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले काङ्ग्रेसभित्र सुमधुर सम्बन्ध बनाउन र आफैँभित्र जागरण ल्याउन राष्ट्रिय जागरण अभियानले सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय जागरण अभियानमार्फत जिल्लामा क्षेत्रीय र स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेस तनहुँका सचिव विश्व बाँस्तोलाले जानकारी दिनुभएको थियो ।

कमाउनिष्टले राष्ट्रियता जोगाउन सक्दैनन् : बलायर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व–भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले कांग्रेस बिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने बताउनुभएको छ ।

पार्टीको जागरण अभियानअन्तर्गत बुधवार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यक्रममा उहाँले कांग्रेस राष्ट्रियताको मेरुदण्ड भएको बताउदै र कमाउ धन्दामा लागेका कम्युनिस्टहरूले राष्ट्रियता जोगाउन नसक्ने दाबी समेत गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा देशको स्वाभिमान गुमेको बताउदै भन्नुभयो, प्रधानमन्त्रीले विदेशीसँग लम्पसार भएर स्वाभिमानलाई गुमाउनु भएको छ , एउटा धर्मको आमन्त्रणमा सरकारी निवास छोडेर होटेलमा बास बस्ने ?

उहाँले कांग्रेसले गरेका कामलाई समेत ओली सरकारले आफैँले गरेको भन्दै प्रचार गरिरहेको गुनासो गर्दै वर्तमान सरकार आएपछि भ्रष्टाचार, महंगी, कालोबजारीलगायतका बेथिति मौलाएको आरोप लगाउनुभयो। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलाग्नुमा समेत सरकार नै दोषी भएको उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस डँडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्लले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउदै कम्युनिस्टले समृद्धिको झुटो नारामा जनतालाई झुक्याएको बताउनुभयो ।

बलियो कांग्रेस  कम्युनिष्ट शासनबाट  मुक्ति : पौडेल


हिमाल, पहाड, तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान को धादिङमा एक भव्य कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अभियानका लागि केन्द्रीय प्रतिनिधि प्रदीप पौडेलले धादिङबेसीमा शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै केन्द्रीय सदस्य पौडेलले कांग्रेस सबल बन्ने वित्तिकै कम्युनिष्ट सरकार ढल्ने बताउनुभयो ।

उहाँले पार्टीलाई सबल बनाउन र कम्युनिष्ट सरकारले केन्द्रदेखि वडातहसम्म गरेका भ्रष्टाचार र बेथितिलाई उजागर गर्न जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।

जागरण अभियानका उद्घाटन कार्यक्रम र भाषण छरितो ढंगले संचालन गरिएको छ । अभियानको बारेमा कांग्रेस धादिङका सभापति रमेश धमला, महिला वक्ताको रुपमा महिला संघको अध्यक्ष अम्बिका अधिकारी र प्रमुख अतिथि पौडेलले मन्तव्य राखेका राख्नुभएको थियो ।

जागरण अभियान अन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख संकलन कार्यक्रमलाई तीव्रता दिने र संकटकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिने बताइएको छ ।

अभियानको प्रथम चरण बुधबारबाट प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती)दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने जनाएको छ ।

प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कार्यतालिका रहेको छ ।

अभियान अन्र्तगत पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझावसमेत लिइने बताइएको छ । सो अवसरमा पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकासँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षाअनुरूपका काम के–कस्तो रूपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा  गरिने नेपाली कांग्रेसले जनाएको छ ।

Share Now

Leave a comment.