नोम पेन्ह(कम्बोडिया), १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कने कार्यक्रम छ ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री न्हुगेन ह्वा फुक र अधिराज्य कम्बोडियाका प्रधानमन्त्री हुन सेनको मैत्रीपूर्ण निमन्त्रणमा बैशाख २६ गते भियतनामको हनोइबाट उहाँको भ्रमण प्रारम्भ भएको थियो ।
उहाँ ५ दिनको भियतनाम भ्रमण समापन गरि बैशाख ३० सोमबार कम्बोडियो प्रस्थान गर्नुभएको थियो ।
कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताउनुभयो ।
उहाँले दुवै नेताले दुई देशका संसद्बीच आदानप्रदान गर्ने तथा सुदृढ बनाउने सहमति भएको पनि बताउनुभयो ।
कम्बोडियाली विदेश मन्त्रालयका अधिकारीले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणले कम्बोडिया अधिराज्य र नेपालबीचको मित्रतालाई बलियो तुल्याउँदै दुई देशबीचको आर्थिक, व्यापारिक, पर्यटकीय र सांस्कृतिक सहयोगलाई प्रबद्र्धन गर्ने अपेक्षा गरेका छन् ।
कम्बोडियाली राष्ट्रिय सङ्ग्रहालय अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नै कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ ।
यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ । यहाँ एङ्करवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ ।
यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा सङ्क्रमण देख्न सकिन्छ । यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ ।
यहाँ एङ्कोरबाटमा प्राप्त शिवका नवौँदेखि तेह्रौँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् । यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ ।
प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पनि हुनुहुन्थ्यो ।
प्रम ओली र कम्बोडियाली कावा राष्ट्र प्रमुखबीच भेट

प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोक्नुभएको हो ।
थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो । कम्बोडियाको विदेशमामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन् ।
नेपाली समुदायलाई सम्बोधन
Prime minister @kpsharmaoli is addressing a gathering of Nepali diaspora at a function organized by Non-Resident Nepali Association- Cambodia pic.twitter.com/nAU2Hx3Ovy
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) May 14, 2019
प्रधानमन्त्री के पी ओलीले कम्बोडियामा भ्रमणका क्रममा मंगलबार त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार नै नेपाल कम्बोडिया व्यापार मञ्चलाई पनि सम्बोधन गर्नुभएको थियो ।
प्रधोनमन्त्रीको सबै भेटघाट र अवलोकन भ्रमण तथा संबोधन कार्यक्रमहरुमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु साथै रहनुभएको थियो ।
(राससको सहयोगमा)


















