Prakash Adhikari May 24, 2019

 

लण्डन(संयुक्त अधिराज्य),१० जेठ(बीबीसी)।ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले आगामी जुन ७ तारिखमा सत्ताधारी कन्जरभेटिभ पार्टिको नेताको पदबाट राजीनामा दिएर युकेको नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खोलिदिने बताएकी छन्।

डाउनिंग स्ट्रिटबाट एउटा भावुक बक्तव्य दिंदै उनले भनिन् सन् २०१६ मा भएको ईयू सदस्यता सम्बन्धी जनमत संग्रहको नतिजालाई सम्मान गर्न उनले “आफूले सकेको सबै” गरिन्।

तर ब्रेक्जिट भनिने ब्रिटेन युरोपेली संघ, ईयू, बाट बाहिरिने प्रकृया सम्पन्न गर्न नस्कनु “गहिरो खेद” को विषय भएको पनि उनले बताइन्।

टरिजा मे ले कन्जरभेटिभ पार्टिभित्र नयाँ नेतृत्व चयनको प्रकृया सम्पन्न नहुन्जेल आफूले प्रधानमन्त्रीको पद सम्हालिरहने पनि बताएकी छन्।

उनले आगामी जुन ७ तारिखका दिनमा पार्टि नेताको पद त्याग्ने छिन् र त्यसपछिको अर्को हप्ता नयाँ पार्टि नेतृत्व चयनको प्रकृया आरम्भ हुनेछ।

ब्रेक्जिट

प्रधानमन्त्री मे ले ब्रेक्जिट सम्बन्धी उनको पछिल्लो योजनाका विरुद्ध आफ्नै सांसदहरूबाट कडा प्रतिरोधको सामना गर्नु परेको थियो।

उनको नयाँ प्रस्तावमा विभिन्न पार्टिको समर्थन समेत जुटाउने प्रयास स्वरूप केही छुटहरूको समेत व्यवस्था थियो।

त्यो प्रस्तावले “जनमत संग्रहको नतिजाको सम्मान नगर्ने” भन्दै कन्जरभेटिभ दलका कमन्सकी नेतृ एन्ड्रीया लीडसमले बुधबार राजीनामा दिएकी थिइन्।

विहीबार प्रधानमन्त्री मे ले गृहमन्त्री साजिद जाविद र विदेशमन्त्री जेरमी हन्टसँग आफ्नो कार्यालय डाउनिंग स्ट्रिटमा भेटवार्ता गरेकी थिइन्। त्यसक्रममा ति मन्त्रीहरूले पनि नयाँ प्रस्तावका सम्बन्धमा आफूहरूको चिन्ता व्यक्त गरेका बुझिएको छ।

टरिजा मे

सहमति

शुक्रबारको आफ्नो बक्तव्यमा प्रधानमन्त्री मे ले भनिन् उनको उत्तराधिकारीले ब्रेक्जिट प्रकृया सम्पन्न गराउनका लागि संसदमा सहमति निर्माण गर्न आवश्यक पर्नेछ।

“र त्यस्तो सहमति तब मात्र निर्माण हुनेछ जब विवादका सबै पक्षमा रहेकाहरूले अडान छाडेर कुनै न कुनै सम्झौता गर्नेछन्,” उनले भनिन्।

प्रधानमन्त्री मे ले आफ्नो बक्तव्य टुंग्याउँदा उनको आवाज कामेको थियो। उनले भनिन्: “म अब केही समयपछि नै आफ्नो पद त्याग्नेछु जुन पदमा रहनु मेरो जीवनको सबैभन्दा गर्वको विषय थियो।”

विपक्षी लेबोर पार्टिका नेता जेरमी कोर्बिनले भने उनले राजीनामा दिएर “सही काम गरिन्” र अब कन्जरभेटिभ पार्टि “विखण्डित” हुँदैछ।

प्रधानमन्त्री मे को बक्तव्यपछि उनको कन्जरभेटिभ पार्टिका कतिपय नेताहरूले उनको प्रशंसा गरेका छन्।

Share Now

Leave a comment.