कोलम्बो(श्रीलंका), २२ भाद्र ।एसीसी यु १९ एशिया कपमा समूह चरणको दोस्रो खेलमा बंगलादेशको टीमलाई पराजित गर्ने लक्ष्य लिएको नेपाली यु१९ टिमले खेलमा सुधार गरेता पनि अन्तिममा बंगलादेश हावी हुँदा खेलको नतिजा बंगलादेशलाई सुम्पनु परेको छ ।
खेलमा टस हारेर ब्याटिड.मा परेको नेपालले दिएको २ सय ६२ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।
वंगलादेशकोलागि कप्तान अकबर अलि ९८, तोविद हृदोय ६०, समिम होसेन ४२, मुहमुदुल हुँसैन जोय ४०,तान्जिद हसन ९,अनिक सरकार सातोले ५ रनको योगदान गरे ।
नेपालको बलिंगमा कमल सिंह ऐरीले २ तथा रासिद खान र हरि बहादुर चौहानले १ । १ विकेट लिए।
खेल सुधारियो तर जित्न पुगेन
पी सारा ओभल मैदान कोलोम्बोमा सम्पन्न खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो।
टस हारेता पनि नेपालीले सुरुवाती विकेट नगुमाई पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्यो। रित गौतम १४ औं ओभरमा व्यक्तिगत ३२ रन बनाएर बोल्ड भए। त्यसपछि पवन सर्राफले एक किनार सम्हालीरहे। आसिफ शेख ३ रन बनाएर १७ औं ओभरमा आउट भए।
चौथो नम्बरमा ब्याटिंग गर्न आएका कुशल मल्लले आक्रामक सट खेल्दै ३ छक्का र १ चौका मदतले ३३ बलमा २८ रन बनाएर बीचमा नेपालको रन गति बढाए। पवनसंग तेश्रो विकेटको लागि ३९ रनको साझेदारी गरे पछि कुशल २७ औं ओभरमा आउट भए।
कप्तान रोहित पौडेल र पवनले चौथो विकेटको लागि अर्धशतकीय साझेदारी गर्दै नेपालको योगफल १ सय ५० पार गराए। १४ रन बनाएर रोहित आउट भए। ४१ औं ओभरमा पवन सर्राफ पनि मृत्युन्जय चौधरीबाट विकेटकिपरबाट क्याच आउट हुन पुगे। सर्राफले १सय ९ बलमा ८ चौका र १ छक्का मदतले ८१ रन बनाए।
सर्राफको विकेटपछि छैठौं विकेटको लागि सन्दिप जोरा र भिम शार्कीले अर्धशतकीय साझेदारी गर्दै नेपालको योगफल २ सय पार गराए। इनिंगको अन्तिममा जोराले आक्रामक ब्याटिंग गरे र ३१ बलमा अर्धशतक पूरा गरे।
७१ रनको साझेदारी गरे पछि भिम र जोरा ४९ औं ओभरमा आउट भए। भिमले १९ बलमा २ चौका मदतले २१ रन बनाए भने जोराले ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए। कमल ऐरीले १ छक्का मदतले ४ बलमा अविजित ९ रन बनाए।
बंगलादेशको बलिंगमा तन्जिम हसन सकिब र शाहिन आलमले समान २ । २ विकेट लिए।
यस अघि पहिलो खेलमा आयोजक श्रीलंकासंग ५ विकेटले पराजित भएको नेपालको दोस्रो चरणमा पुग्ने सपना सपनामै रहने स्थिति सिर्जना भएको छ ।
यु१९ एसिया कपको गत संस्करणमा पनि नेपाल समुह चरणबाट बाहिरिएको थियो।
नेपालले अन्तिम खेल मंगलबार युएईसंग खेल्नेछ।
युएईलाई पहिलो खेलमा पराजित गरेको बंगलादेश भने २ जित सहित सेमीफाइनल प्रवेश गरेको छ। समुह ‘बि’ अन्तर्गतनै श्रीलंकाले युएईलाई पराजित गरी सेमीफाइनल प्रवेश गरेको छ ।


















