काठमाडौं, ४असोज । साफ यु–१८ च्याम्पियनसिपतर्फ उद्घाटन खेलमै बराबरी खेलेपछि नेपाली टोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले खेलमा जित हात नपार्नुलाई दुर्भाग्यपुर्ण बताएका छन् । स्मरण रहोस, प्रतियोगिताको समूह ए मा रहेको नेपालले शुक्रबार उद्घाटन खेलमा आफ्नो पकड बनाए तापनि माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
खेल पश्चात् पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक श्रेष्ठले भने, “हामीले आक्रमक रणनीति लिएर मैदानमा उत्रिएका थियौं । तर रक्षात्मक गल्तीका कारण शुरुवाती गोल खान पुगेका थियौं । साँचो भन्ने हो भने हामीले उनीहरु (माल्दिभ्स) लाई हलुका रुपमा लिएका थिएनौं ।
बरु पहिलो हाफमा हामी राम्रोसँग खेल्न सकेनौं । तर दोस्रो हाफमा हामीले राम्रो खेल्यौं । हाम्रो दुर्भाग्य मान्नुपर्छ, हामीले प्राप्त गोलका अवसरहरुलाई सदुपयोग गर्न सकेनौं ।”
प्रशिक्षक श्रेष्ठले कुराकानी कै क्रममा नेपालका लागि बराबरी गोल फर्काएका मनिष डाँगीबारे पनि चर्चा गरे । प्रशिक्षक श्रेष्ठले अगाडी भने, “पहिलो हाफमा उनी (मनिष) दबाबमा देखिए । त्यसपछि हाफ टाईममा मैले उनीसँग कुरा गरें । दोस्रो हाफमा भने उनले राम्रो प्रदर्शन गरे ।”
साथै समूह चरणको अन्तिम खेलमा भुटान विरुद्ध उत्कृष्ट खेल्ने पनि प्रशिक्षक श्रेष्ठले बताए । स्मरण रहोस, नेपालले समूह ए तर्फको आफ्नो दोस्रो तथा अन्तिम खेल आइतबार भुटानसँग खेल्दैछ ।


















