सांघाई(चीन), २० कार्तिक । यू–१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपाली टोली आज थाइल्याण्डसंग भिड्दै छ ।
नेपालले केही समय अगाडि भएको टस जितेर ब्याटिड. रोजेको छ ।
उत्कृष्ट लयमा लगातार दोस्रो जित निकाले नेपाली टोलीले आज पनि खेल जित्ने अपेक्षा गरिएको छ ।
बिहीबार सम्पन्न खेलमा नेपालले हङकङलाई ९२ रनले पराजित गरेको हो। यसअघि नेपालले थाइल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो।
नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा ५४ रनमै अलआउट भयो।
हङकङलाई नेपाली बलरले सुरुदेखि नै दबाबमा राखे। हङकङका ह्वाई लाम पुनले सर्वाधिक १७ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका मनिषा चौधरी र रचना चौधरीले समान ३ विकेट हात पारिन्।
त्यसअघि चीनको सान्सी टाउन क्रिकेट सेन्टरमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १९।५ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो।
नेपालको इनिङ्समा सोनी पाख्रिनले सर्वाधिक ४४ रन जोडिन्। उनले २८ बलमा ५ चौका र १ छक्का प्रहार गरिन्। उनको यही प्रदर्शनका कारण उनी ‘प्लेअर अफ द म्याच’समेत घोषित भइन्।
सावित्री धामीले २६ बलमा ४० रन बनाउँदै नेपालको इनिङ्सलाई गति दिइन्। उनले ८ चौका प्रहार गरिन्। त्रिसना विश्वकर्माले १३ रन जोड्दा अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।







