न्यापिताओ (म्यानमार),३० असोज(रासस) । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मार भ्रमणका क्रममा राजधानी न्यापिताओ पुग्नुभएको छ।
उनलाई म्यान्मार सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र न्यापिताओ नगरका प्रमुख डा म्यो आङले स्वागत गर्नुभयो।
राष्ट्रपति भण्डारीलाई न्यापिताओ शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ। राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ।
राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नुहुनेछ। सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्मारका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नुहुनेछ।
त्यस्तै नेपाली प्रतिनिधिमण्डलले जेम्स म्युजियमको पनिअवलोकन गर्ने कार्यक्रम छ। यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्मारका राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नुहुनेछ।
म्यानमारको भ्रमणको लागि राष्ट्रपति भण्डारी बुधबार काठमाडौंबाट निस्कनुभएको थियो ।


















