काठमाडौं,३० असोज।नेपालले यो हप्ता दुईजना फरक फरक क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु गुमाएको छ ।
गत बुधबार पूर्व अर्थमन्त्री तथा प्रा. मधुकरसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ भने मंगलबार नेपालका पहिलो सर्जन डा. अञ्जनीकुमार शर्माको देहान्त भएको छ ।
मुटु र मृगौलाबाट पीडित प्रा.जबराको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सत्ता हातमा लिएपछि गठित मन्त्रिपरिषदमा राणा अर्थमन्त्री हुनुहुन्थ्यो । एसियन इन्स्टिच्यूट अफ म्यानेजमेन्टका प्रोफेसर समेत रहनुभएका राणा नेपाल व्यवस्थापन संघका पूर्व अध्यक्ष हुनुको साथै नेपाल हकी संघका संस्थापक उपाध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँले शालिग्राम अपार्टमेण्ट होटल सञ्चालन गर्नुको साथै टुकी रेष्टुराँ पनि सञ्चालन गर्नुभएको थियो ।
उहाँका एक श्रीमती र २ छोरा छन्।
यता डा.अञ्जनीकुमार शर्माको भने ८६ बर्षको उमेरमा लोअर यूरेटर क्यान्सबाट आफ्नै निवास मित्रपार्क चावहिलमा निधन भएको हो ।
नेपालका वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सल्यचिकित्सा विभाग स्थापना गरी सल्यक्रियाबाट औषधोपचार सेवा आरम्भ गर्ने व्यक्तित्व डा. शर्माले क्यान्सरविरुद्ध जनचेतना जगाउने र क्यान्सर उपचारको लागि नेपाल क्यानसर मुक्त समाज(नेपाल क्यान्सर रिलिफ सोसाइटी)को स्थापना गरेर सोमार्फत भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालनमा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
सरकारी सेवाबाट अवकाश लिएपछि उहाँ विगत केही दशक यता अन्नपूर्ण नर्सिड.होम स्थापना गरी सोमार्फत जनताको स्वास्थ्योपचारमा सेवारत हुनुहुन्थ्यो ।
उहाँका एक श्रीमती, एक छोरा र दुई छोरी छन् ।
आआफ्नो क्षेत्रबाट नेपाल र नेपालीको सेवा गर्नुभएका दुवैमा भावपूर्ण श्रद्धाञ्जली !


















