कीर्तिपुर(काठमाडौं),३० असोज । नेपालको पहिलो महिला क्रिकेट लिगमा विराटनगर टाइटनले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।
ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रन, करुणा भण्डारी २१ रनm कृति शेन र सम्झना खड्काले समान १३–१३ रन रोशनी बोहोरा ९ रन, सरिता मगरले एक रन, कप्तान नेरी थापाले ४ र शान्ति चौधरीले ९ रनको योगदन गरे ।
१ सय २३ रनको लक्ष्य पाएको विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । विराटनगरका लागि ज्योति पाण्डेले अर्धशतक बनाइन ।उनले विराटनगरका तर्फबाट पहिलो विकेटका लागि सोनु खड्कासँग ८३ रनको साझेदारी गरिन। जुन यो प्रतियोगिताको सर्वाधिक ठूलो साझेदारी हो । उनले ४३ बलमा १० चौका र एक छक्काको मद्दतले ६५ रन बनाइन ।
बलियो सुरुवात गरेपनि विराटनगरले विचमा चार विकेट सस्तैमा गुमायो । लक्ष्मी चौधरी शुन्य रनमा आउट भइन भने कपन सिता मगरले खाता खोल्न सकिनन् ।
यो जितसँगै विराटनगरले पहिलो खेलमा नै दुई अंक जोड्न सफल भएको छ ।


















