काठमाडौं, ४ माघ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा लोकतान्त्रिक समूहका अच्युत गुरागाईं निर्वाचित हुनुभएको छ ।
नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाईं निर्वाचित हुुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गर्नुभएको थियो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित हुनुभएको छ ।
नाट्टाको सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी हुनुभएको छ ।

शुक्रबार सम्पन्न मतदानमा ४ सय ५ मत खसेको थियो ।
नवनिर्वाचित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी मानिनुहुन्छ । करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील गुरागाईं नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर कुशलतापूर्वक काम गरिसक्नुभएको छ ।
नवनिर्वाचित अध्यक्ष गुरागाईंले पर्यटन प्रवद्र्धन टेवा पुर्याउने समूहलाई मतदाताले विश्वास गरेको बताउनु भएको छ । उहाँले पर्यटन व्यवसायी र सबै नेपालीको रोजीरोटीसंग सम्बन्धित पर्यटन क्षेत्रको विकासमा सघाउने उद्देश्यले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नाट्टाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


















