काठमाडौं, ५ माघ । बेल्जियमकी राजकुमारी एस्ट्रिड एक साता लामो नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुग्नुभएको छ ।
उहाँ माघ ११ गतेसम्म नेपाल बस्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजधानीमा रहदा राजकुमारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्नुका साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
स्वास्थ्य सेवामा विशेष रुची राख्ने राजकुमारी एस्ट्रिड कैलाली, नवलपरासी र चितवनको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।
कैलालीमा उहाँले क्षयरोग सेन्टरको उद्घाटन समारोहमा सहभागिता जनाउने र बिरामीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नवलपरासीको मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत भेट्ने उहाँको कार्यक्रम रहेको छ ।
सो अस्पताललाई उहाँकै अध्यक्षता रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले सहयोग गर्दै आएको छ।
ओटावा कन्भेन्सनका लागि विषेश दूतसमेत रहनुभएकी एस्ट्रिड खानी उत्खनन् विरुद्ध अभियानमा समेत आबद्ध हुनुहुन्छ ।
राजकुमारीको यस भ्रमणले नेपाल र बेल्जियमबीचको दुईपक्षीय सम्बन्धमा अझ सुधार आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


















