काठमाडौं, २२ चैत्र । भाटभटेनी सुपर स्टोर्स ग्रुपले देश संकटमा रहेको अवस्थामा पनि गुणस्तरहीन र महंगा स्वास्थ्य उपकरण भिडाउन खोज्ने ओम्नी ग्रुपसँग आफ्नो कुनै व्यवसायिक साझेदारी नरहेको स्पष्ट पारेको छ ।
भाटभटेनी समूहले चीनबाट ओम्नी ग्रुपले खरिद गरेको स्वास्थ्य उपकरण र सामग्री महंगो र गुणस्तरहीन रहेको समाचारमा आफ्नो नाम पनि जोडिएपछि यो स्पष्टीकरण दिएको हो ।
भाटभटनी समूहले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ओम्नी समूहले पुल्चोकस्थित भाट भटेनी सुपर मार्केटको माथिल्लो तल्लामा कार्यालय स्थापना गरेको छ। ओम्नी ग्रुपले सो वापत भाटभटेनीलाई भाडा बुझाउँछ। भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मान मर्दन गर्न केही सञ्चार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं।’
भाटभटेनीले आफ्नो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार आफूहरु नहुने पनि स्पष्ट पारेको छ।
भाटभटेनी ग्रुपले कोरोनाको संक्रमणसँग लड्नका लागि संघीय सरकारले स्थापना गरको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु १ करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने ७ वटै प्रदेश सरकारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि रु. २५ लाखका दरले सहयोग गर्ने घोषणा पनि गरिसकेको छ।
लकडाउनको विषम परिस्थितिमा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी घर–घरमै पुर्याउने व्यवस्था गरिरहेको पनि भाटभटेनीले जनाएको छ ।


















