Prakash Adhikari April 13, 2020

लण्डन(सयुक्त अधिराज्य), १ बैशाख (बीबीसी) । बेलायतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आइतवार १० हजार नाघेपछि सरकारको चर्को आलोचना शुरू भएको छ।

त्यहाँका एक प्रसिद्ध वैज्ञानिक सर जेरेमी फार्रारले युरोपकै सबैभन्दा प्रभावित मुलुक यूके बन्न सक्ने चेतावनी दिनुभएको छ।

रोयल कलेज अफ सर्जन्सका उपाध्यक्ष सु हिलले यूकेमा ३० हजार जनासम्मको कोरोनाभाइरसका कारण मृत्यु हुनसक्ने बताउनुभएको छ।

यसैबीच अक्सफोर्ड विश्वविद्यालयका एक प्राध्यापकले सेम्टेम्बरसम्ममा सबैका लागि कोरोनाभाइरसको खोप उपलब्ध हुनसक्ने दाबी गर्नुभएको छ।

सरकारको आलोचना
‘ मन्त्रीहरू दिनका दिन उभिएका छन्, युद्धको बेलाजस्तो ठूलो कुरा भनेर हामीलाई सम्बोधन गरेका छन् जबकि यो समयमा उनीहरूले अस्पतालका वार्डमा केही प्लास्टिक र कागज ृपीपीईे पुर्‍याउनेजस्ता केही साधारण काम गरेपनि सहयोग हुन्थ्यो’, हिलले भन्नुभयो।

भूतपूर्व जनस्वास्थ्य निर्देशक प्राध्यापक जोन एस्टनले सरकारलाई अस्पतालमा मृत्यु हुने मात्रैको सङ्ख्या सार्वजनिक गरेको र हेरचाह केन्द्र वा समुदायमा मृत्यु हुनेहरूको सङ्ख्या नबताएको भन्दै पूर्ण इमान्दार हुन आग्रह गर्नुभयो।

कोरोनाभाइरस
‘सामाजिक सञ्जालमा हामीलाई यकिन तथ्याङ्क नदिइएको भन्दै धेरै चिन्ता व्यक्त भएका छन्। मानिसहरूलाई वयस्कजस्तो व्यवहार गर्नुपर्यो ‘, उहाँले भन्नुभयो।

चिकित्सक लगायत एनएचएसका दर्जनौँ कर्मचारीहरूको मृत्यु भएको छ र त्यसरी मृत्यु हुनेमा अश्वेत, एशियाली र अल्पसङ्ख्यकको अनुपात बढी रहेको बताइएको छ।

‘सेप्टेम्बरसम्ममा खोप’

खोपविज्ञ प्राध्यापक सारा गिल्बर्टले बीबीसी रेडिओ ४ को टुडे कार्यक्रममा कोरोनाभाइरसको खोपको परीक्षण चाँडै शुरू हुने र चाँडै नै उत्पादन प्रकिया थाल्नु पर्ने बताउनुभएको छ।

उहाँले सेप्टेम्बरसम्म यस्तो खोप उपलब्ध हुने बताउनुभयो।

‘हामीले ठूलो सङ्ख्यामा खोप उत्पादन गर्न थाल्नुपर्छ’, उहाँले बताउनुभयो।

‘औषधी निर्माताहरूले परीक्षण अगावै खोप उत्पादन गर्न थाल्नु नौलो कुरो होइन। परीक्षणबाट सफल भएको खोप उपलब्ध नहुने अवस्था कसैले पनि चाहँदैन’, उहाँले भन्नुभयो, ‘हामीलाई खर्बौँको सङ्ख्यामा खोप चाहिन्छ त्यसैले जति छिटो शुरू गर्‍यो उति छिटो त्यो प्राप्त गर्छौँ।त्यति सङ्ख्यामा सायद हामीले यो वर्ष उत्पादन गर्न सक्दैनौँ होला तर अहिले शुरू गरेन भने आर्को वर्ष पनि सम्भव हुँदैन।’

Share Now

Leave a comment.