काठमाडौं, ४ बैशाख । १३औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता खेलाडीहरुलाई राज्यका तर्फबाट घोषणा गरिएको पुरस्कार रकम खेल सम्पन्न भएको झण्डै ५ महिनापछि खेलाडीहरुको खातामा जम्मा भएको छ ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गरी घोषित रकम खेलाडीहरुको खातामा जम्मा भएको जानकारी दिएको छ ।
मन्त्रालयले पदक विजेता ४ सय ३५ जना खेलाडीलाई पुरस्कार स्वरुप दिइने १९ करोड ४३ लाख रकम खेलकुद परिषद्मार्फत उपलब्ध गराइएको र रकम संबन्धित खेलाडीको बैंक खातामा जम्मा भइसकेको जानकारी दिएको छ ।

गएको मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो।
युवा तथा खेलकुद मन्त्रालयले हालको परिस्थितिका कारण समारोह आयोजना गरी पदकधारीलाई सम्मान गर्न सम्भव नभएको भन्दै खातामा रकम जम्मा गरिएको जनाएको छ।
सरकारले दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णपदक विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरिएको थियो।
टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख, रजत जित्नेलाई ४ र कास्य जित्नेलाई २ लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । सरकारले घोषणा गरेको कार्यविधि अनुसार सागमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक जितेकी गौरिका सिंहले सर्वाधिक ६२ लाख रुपैयाँ प्राप्त गर्नुहुने छ।

२ स्वर्ण पदक जितेका आयशा, करातेका मण्डेकाजी श्रेष्ठ र सुवास तामाङले समान २२ लाख रुपैयाँ पाउने बताइएको छ।
नेपाललेआफ्नै भूमिमा आयोजित १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य पदक जितेको थियो।


















