वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), ४ बैशाख(बीबीसी) । कोरोनाभाइरसको महामारी जारी रहँदै गर्दा प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसले निम्त्याउने खतराबारे प्रश्नहरूको सामना गर्नुपरेको छ।
ट्रम्पले देशलाई बन्द राखिरहँदा समेत मानिसहरूको ज्यान गइरहेको बताउनुभयो ।
राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर उनीहरूले उपयुक्त ठानेका बेला प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने बताउनुभयो।
अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ अहिलेसम्मकै उच्च सङ्ख्यामा बेरोजगारहरू बढेका छन्।
मतभेद
राज्यका गभर्नरहरूसँग प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम सुचारू गर्ने समयका विषयमा ट्रम्पको गम्भीर मतभेद पाइन्छ।
तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्यहरू खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ जसलाई राष्ट्रपतिले ‘त्यो निकै रोमाञ्चक’ हुने बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको विषय भएको र आत्महत्यासम्बन्धी हटलाइन सेवाहरू थामिनसक्नु भएको बताउनुभयो।
आम्दानी ठप्प भएका बेला अहिले लागु पदार्थ दुर्व्यसनी समेत अझ ठूलो समस्याको रूपमा देखा परेको उहाँले बताउनुभयो।
एक प्रतिशत जनसङ्ख्यामा जाँच
अमेरिकाले अहिलेसम्म झण्डै ३३ लाख कोभिड १९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झण्डै १ प्रतिशत हो।
तर बुधवार लगातार दोस्रो दिन हालसम्मकै उच्च सङ्ख्यामा अमेरिकामा भाइरसबाट मृत्यु हुनेहरू पाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकामा अहिलेसम्म ६ लाख ३७ हजार भन्दा धेरै सङ्क्रमितहरू पुष्टि हुनुका साथै २८ हजार भन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ।
ट्रम्पले चाहिँ अमेरिकाले नयाँ कोरोनाभाइरसको उत्कर्ष पार गरिसकेको बताउनुभएको छ।
अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र सुचारु गर्न बलियो अवस्थामा रहेको समेत उहाँले बताउनुभयो।
बुधवार नै यस भाइरसको सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या विश्वभर २० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको थियो।
डब्ल्यूएचओमाथि पुन: रोष
नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबारे पुनस् आफ्नो रोष पोख्नुभयो।

उहाँले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णयको सुरुमा डब्ल्यूएचओले आलोचना गरेको बताउनुभयो।
ूदुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्ल्यूएचओमाथि विश्वास गरिरहेका छन् र उक्त सङ्गठनमाथि कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्,ू ट्रम्पले भन्नुभयो, हेर्नुस् इटलीमा के भयो, हेर्नुस् स्पेनमा के भयो, हेर्नुस् फ्रान्समा के भयो।
राजनीतिकीकरणु नगर्न आग्रह
ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेको भन्दै ‘त्यो सायद उनीहरूले बोध गरिसकेको’ बताउनुभयो।
कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा ून्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएकोू आरोप लगाउँदै ट्रम्पले डब्ल्यूएचओलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिनुभएको थियो।
ग्वाटेमालामा चिन्ता
मध्य अमेरिकी मुलुक ग्वाटेमालामा अमेरिकाले देश निकाला गरिदिएपछि स्वदेश फर्केका मानिसमा कोरोभाइरस देखिएपछि चिन्ता बढेको छ।
ग्वाटेमालाका स्वास्थ्यमन्त्रीले हालै अमेरिकाबाट निष्कासित हुनेमध्येको एउटा समूहका झण्डै ७५ प्रतिशतमा भाइरस पाइएको बताउनुभएको थियो।
त्यससँगै रोमन क्याथोलिक गिर्जाघरले उक्त प्रक्रिया हाललाई रोक्न आग्रह गरेको थियो।
ग्वाटेमालासँगै एल सल्भाडोर, होन्डुरस र मेक्सिकोले आफ्नो स्वास्थ्य प्रणालीको सीमितता देखाउँदै अमेरिकालाई उक्त प्रक्रिया बन्द गर्न आग्रह गरेका छन्।
तर गत शुक्रवार ट्रम्पले देश निकाला गरिएकाहरूलाई नलिने देशले प्रतिबन्धहरूको सामना गर्ने एउटा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।


















