वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ३ बैशाख । अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसले कोरोनाभाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर बृद्धि गर्नूभएको छ।
विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ।
अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ।
माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ।
यति हुँदाहुँदै पनि अमेरिकामा कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना भएको छ।
अमेजनमा बेजोसको ११ प्रतिशत शेअर छ र मङ्गलवार मात्रै अमेजनको शेअरको मूल्य ५.३ प्रतिशतले बढेको छ।
लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन्।
वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ।
लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ।
बेजोसको उकालो बाटो
बेजोसले एक लाख डलर लगानी गरेर सन् १९९५ मा अमेजन शुरू गर्नुभएको थियो। उहाँले अमेजन शुरु गर्न ३० वर्षको उमेरमा जागिर छोड्नुभएको थियो।
न्यूयोर्कमा डीई सह नामक संस्थामा सहकर्मीको रुपमा कार्यरत बेजोशकी पत्नीले पनि अमेजनका लागि जागिर छोड्नुभएको थियो ।
चार बच्चा जन्माएका बेजोश दम्पत्ति सन् २०१९ मा छुट्टिए । पत्नीलाई बेजोसले ३८ अर्ब डलर सम्पत्ति र अमेजनमा ४ प्रतिशत शेअर दिनुभएको थियो।
सन् १९९७ मा शेअर बजारमा जाँदा अमेजनले ५ करोड ४० लाख डलर उठाएको थियो र बेजोस ३५ वर्ष पुग्नु अगाडि नै विश्वका धनीमध्ये एक बनेका थिए।(बीबीसीबाट)


















