Prakash Adhikari April 15, 2020

 

काठमाडौं, ३ बैशाख । कम्तीमा २० देशमा रहेका नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब २ सय रहेको उल्लेख छ।

कतिपय देशबाट तथ्याङ्क नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, ब्रिटेन र खाडी देशमा रहेका नेपालीहरू कोरोनाभाइरसका कारण बढी प्रभावित भएको देखिन्छ।

वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले परिवार र समुदायमा नराम्रो सन्देश जाने कारणले कैयौँ नेपालीहरू खुल्न नचाहेकाले वास्तविक विवरण पाउन नसकिएको बताउनुभएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपाली समुदाय र स्थानीय सरकारसँग सम्पर्कमा रहन र सुरक्षाका उपाय अपनाउन विदेशस्थित नियोगहरूलाई निर्देशन दिइएको बताउनुभयो।

तथ्याङ्कले के भन्छ?

मङ्गलवार साँझसम्म नियोगहरूले परराष्ट्र मन्त्रालयलाई पठाएको विवरणले हालसम्म सबैभन्दा धेरै सङ्क्रमित नेपालीहरू अमेरिकामा रहेका रहेको देखाउँछ।

स्थानीय कानूनले बिरामीको जानकारी गोप्य राख्ने हुनाले कति जना नेपाली सङ्क्रमित छन् यथार्थ जानकारी नभएको भन्दै विवरणमा करिब ६० जनामा सङ्क्रमण पाइएको उल्लेख छ।

त्यसमध्ये ४२ जना हाल कोरोनाभाइरस सङ्क्रमणको केन्द्रविन्दु रहेको न्यूयोर्कका भएको उल्लेख गरिएको छ।

वासिङ्टन डिसीस्थित दूतावासले एकजना नेपाली मूलका अमेरिकी र एक नेपाली नागरिक सहित ६ जनाको मृत्यु भएको र त्यसमध्य ३ जनाको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको उल्लेख गरेको छ।

राजदूत कार्कीले भन्नुभयो, ‘परिवार चिन्तित हुने आशङ्काले कतिपयले आफूलाई सङ्क्रमण भएको सार्वजनिक गर्न चाहनुभएको छैन।’

‘एक्लै बस्दा महङ्गो हुने भएकाले धैरै जना सामूहिक रूपमा बस्ने गर्नुभएको छ तर आफ्ना कारणले समुदायमा नराम्रो नहोस भनेर पनि खुल्न नचाहनेहरू हुनुहुन्छ। त्यसैले हामीसँग यकिन तथ्याङ्क छैन।’

यसअघि गैरआवसीय नेपाली सङ्घले अमेरिकामा ५ सय जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएका हुनसक्ने आशङ्का व्यक्त गरिएको थियो।

नेपाल
यूकेमा हाल ३५ जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ३० जना क्वारन्टीनमा रहेको उल्लेख गरिएको छ।

त्यहाँ हालसम्म कोरोनाभाइरसको कारण ६ जना नेपालीले ज्यान गुमाएको र १० जना आराम गरिरहेका छन्।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज अरनले कोरोनाभाइरसपछि उत्पन्न सङ्कटका कारण खाना र डेरा खर्च नभएको कारणसहित २ सय ३० जनाले सम्पर्क गरेको जानकारी दिनुभयो।

खाडी देशको अवस्था यस्तो छ: 

Derivative Market In Gulf Countries
लाखौँ नेपाली कामदार कार्यरत रहेका खाडी तथा मध्यपूर्वका देशमा पनि नेपालीहरूमा सङ्क्रमण देखिएका जनाइएको छ।

एकजनाको यूएईमा मृत्यु भएको भनिएपनि त्यसको पुष्टि मन्त्रालयले गरिसकेको छैन।

झन्डै ३५ हजार नेपाली रहेको बहरेनमा २२ जनामा सङ्क्रमण देखिएको छ। बहेरेनस्थित नेपाली श्रम सहचारी दामोदर दाहालले फाटफुट सङ्ख्यामा कम्पनी बन्द भएका र दैनिक १० देखि २० जनाले घर जाने इच्छासहित दूतावासमा सम्पर्क गरिरहेको जानकारी दिनुभयो।

चार लाख नेपाली श्रमिक रहेको कतारमा केही सङ्क्रमित नेपालीहरू दूतावासको सम्पर्कमा रहेको भनिएको छ।

उक्त विवरणमा सङ्क्रमित वा क्वारन्टीनमा रहेकाहरूको विवरण उपलब्ध नगराउने नीति कतार सरकारको रहेको उल्लेख गरिएको छ।

यूएईमा ११ जना, कुवेतमा १२ जना, साउदी अरेबीयामा चार जना र मलेशियामा एक जनामा सङ्क्रमण देखिएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

नेपाली कामदारको अर्को गन्तव्य देश रहेको जापानमा दुई जनामा सङ्क्रमण देखिएको भनिएको छ।

कतार
कतारले त्यहाँ कुन देशका कति कामदारलाई सङ्क्रमण भएको छ भन्ने विवरण सार्वजनिक गरेको छैन्

भारतदेखि क्यानडासम्मका विवरण

क्त विवरणमा भारतको मुम्बईमा अछामका आठ जनामा सङ्क्रमण देखिएको र हाल उनीहरूको उपचार भइरहेको जनाइएको छ।

एकै परिवारका उनीहरूको मुम्बईका तीनवटा अस्पतालमा उपचार भइरहेको भनिएको छ।

त्यसबाहेक अस्ट्रेलियामा ८ , पोर्चुगलमा १२, स्पेनमा कम्तीमा ८ जना र स्वीट्जरल्यण्डमा ५ जनामा सङ्क्रमण देखिएको भनिएको छ।

हङ्‌कङमा एक जनामा सङ्क्रमण देखिएको र ७ जना क्वारन्टाइनमा रहेको, माल्दिभ्समा दुई जनामा क्वारन्टाइनमा रहेका र बेल्जियममा एक जना आराम गरिरहेको जनाइएको छ।

इजरायल र न्यूजिल्याण्डमा पनि एक एक जना नेपालीलाई सङ्क्रमण देखिएको छ। क्यानडामा रहेका केही नेपालीमा पनि सङ्क्रमण देखिएको जानकारी भएपनि त्यो पुष्टि गर्न नसकिएको विवरणमा उल्लेख छ।

प्रवक्ता पौड्यालले सरकारले विदेशस्थित नियोगहरूलाई अवस्थालाई नजिकबाट नियाल्न र स्वास्थ्यसम्बन्धी स्थानीय सरकारहरूको निर्देशन पालना गर्न नेपाली समुदायलाई आह्वान गर्न भनेको बताउनुभएको छ।

उहाँले नेपालीहरूको बढी जनसङ्ख्या रहेका देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै तहमा कुराकानी भएको उल्लेख गर्दै भन्नुभयो, ‘हामीले जसरी अरू देशका नागरिकलाई यहाँ संरक्षण गरेका छौँ त्यसरी नै तपाइँहरूका देशमा रहेका हाम्रा नागरिकहरूको पनि संरक्षण गरिदिनुपर्यो भनेका छौँ।'(बीबीसीबाट)

Share Now

Leave a comment.