सौतिक विश्वास / भारत संवाददाता, बीबीसी
नयाँदिल्ली(भारत), ४ बैशाख । भारतमा भाइरसको सङ्क्रमणले बुधवारसम्म ३ सय ७७ जनाको ज्यान लिइसकेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदा तीनदेखि चार साता कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि ‘सङ्कटपूर्ण’ हुने बताउनुभएको छ।
ज्यानुअरी ३० मा भाइरसको पहिलो घटना पुष्टि भएसँगै भारतले यस महामारीसँग जुझ्ने प्रयासमा थुप्रै उपायहरू अवलम्बन गरिसकेको छ।
जाँचका लागि योग्य हुने मापदण्डलाई खुकुलो बनाउनुका साथै सरुवा रोगसँग जुझ्ने १२२ वर्ष पुरानो कानुन लागु गरेर सार्वजनिक जमघट र अन्य विषयमा प्रतिबन्ध लगाएको छ।
एप्रिल १४ मा तीन साता पूरा गरेको लकडाउनलाई पुनस् मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको छ।
देशमा जमिन र हवाई सबैखाले सवारीसाधनहरू नचल्दा एक अर्बभन्दा बढी मानिसहरू घरभित्रै बस्न बाध्य छन्।
भारतमा अहिलेसम्म एक लाख ८० हजार जनाको परीक्षण गरिएको छ। तीमध्ये झण्डै ४.३ प्रतिशतमा सङ्क्रमण पाइएको छ। सङ्क्रमणले बुधवारसम्म ३ सय ७७ जनाको ज्यान लिइसकेको छ।
विवरणहरूका अनुसार सङ्क्रमण देशको आधाजसो भूभागका ७ सय भन्दा धेरै जिल्लामा फैलिसकेको छ। थुप्रै जोखिमयुक्त क्षेत्र औँल्याइएका छन्।
विश्वभरका स्वास्थ्यविज्ञहरूले अहिले भारत कसरी यस भाइरससँग जुझ्छ भनेर चासोपूर्वक हेरिरहेका छन्।

उच्च जनसङ्ख्या, विशाल भूभाग र कमजोर जनस्वास्थ्य सेवाले त्यहाँ लागु गरिने उत्कृष्ट अभ्यासलाई समेत फिका साबित गर्न सक्छन्।
गम्भीर अवस्था
‘धेरैलाई चिन्तित पार्ने कुरा नै त्यही हो’,नाम नखुलाउने सर्तमा एकजना वरिष्ठ सरुवा रोग विशेषज्ञ भन्छन्,’भाइरस फैलावटको क्रम हेर्दा अझै पनि त्यो सुरुवाती चरणमै रहेको देखिन्छ। अबको तीन-चार सातामा स्पष्ट चित्र आउनेछ।’
ब्रोकिङ्स इन्स्टीट्यूटसँग सम्बद्ध अर्थशास्त्री समिका रवि भाइरसको सङ्क्रमणलाई नजिकबाट नियालिरहनुभएको छ। उहाँ भारतले नराम्रो अवस्थाको सामना गरिरहेको स्वीकार्नु हुन्न ।
उहाँका अनुसार सक्रिय सङ्क्रमणका घटना हरेक सात दिनमा दोब्बर भइरहेका छन् जुन दर पहिलेको भन्दा कम हो। मृत्युदर कम भए पनि बढिरहेको भने छ।
उहाँले भन्नुभयो, ‘हामीले सङ्कटलाई सक्रिय रूपमा पछ्याइरहँदा हाम्रो सङ्क्रमणकोे वृद्धिदर भने नियन्त्रित छ।हाम्रो सबै जाँचहरू विधि अनुसार छन्। यात्राको इतिहास भएका मानिसहरू खोज्ने र उनीहरूले भेटेका मानिसहरूलाई पछ्याउनेजस्ता काम गरिएका छन्।’
न्यून भर्ना दर
तीव्र सङ्क्रमण हुने यस रोगबाट भारतका अस्पतालमा रूघाखोकीजन्य रोग लागेका बिरामीको उच्च भर्नादर नरहेको पाइनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।
तर यो राम्ररी विवरण सङ्कलन नहुँदाको अवस्था समेत हुनसक्छ।

मध्यप्रदेशको एउटा शहर इन्दौरको एउटा निजी अस्पतालले मात्र १ सय ४० भन्दा धेरै कोभिड १९ का बिरामी जाँच गरिरहेको छ।
गत सप्ताहन्तमा त त्यसले एक दिनमै ४० नयाँ सङ्क्रमितहरू भर्ना गरेको थियो।
टी ज्याकोब जोनजस्ता सेवानिवृत्त सरुवा रोगका प्राध्यापक भारत निकै खराब अवस्थाका लागि तयार हुनुपर्ने ठान्नुहुन्छ।
क्रिस्चियन मेडिकल कलेज भेलोरमा काम गर्नुभएका उहाँ भन्नुहुन्छ, “हामीले यस समस्याको चरित्र अझै बुझेजस्तो लाग्दैन जुन हाम्रोमा अबको दुई महिनामा देखा पर्न सक्छ। हामीले भन्दा पनि अहिलेसम्म भाइरसले हाम्रो प्रतिक्रिया जाँच गरिरहेको छ।”
समुदायमा सङ्क्रमण
डा. जोन भारतले गरिरहेको काम धेरैजसो ुस्पष्ट देखिने घटना र प्रतिक्रियात्मकु भएको बताउनुहुन्छ।
भारतको स्वास्थ्य मन्त्रालयले भने समुदाय तहमा भाइरसको सङ्क्रमण फैलिएको कुरालाई अस्वीकार गर्दै आएको छ।
चिकित्सकहरूले समेत मार्च महिनाको सुरुतिरबाट मात्र सङ्क्रमण पाइन थालेको बताउँदै आएका छन्।
‘हामी सबैलाई समुदायमा सङ्क्रमण फैलिएको छ भन्ने थाहा छ तर सबैको ध्यान देखिने सङ्क्रमित खोज्नमा केन्द्रित हुनु रणनीतिक भुल हो’, डा. जोनले भन्नुभयो।
अबका दिन सङ्कटपूर्ण
डा. रवि ‘अबका हरेक साता सङ्कटपूर्ण हुने’ ठान्नुहुन्छ।
त्यस्तो अवस्थामा भारतका लागि दशौँ लाख जाँच किट र त्यसमा काम गर्ने दक्ष जनशक्ति चाहिन्छ। जाँच प्रक्रिया लामो हुन्छ। दशौँ हजार नमुना चिस्यानमा राखेर सुरक्षित रूपमा प्रयोगशाला लैजानुपर्छ।

यस चुनौतीसँग जुझ्ने एउटा उपाय चरणबद्ध जाँच ुपुल टेस्टिङ्ु भएपनि त्यसका लागि भारतमा स्रोत तथा क्षमता सीमित छ।
विश्व स्वास्थ्य सङ्गठनले सुझाएजस्तो कैयौँ नमूनाहरूलाई ट्युबमा सङ्कलन गरेर नाक वा घाँटीबाट स्वाब सङ्कलन गर्ने पीसीआर प्रक्रिया चुनौतीपूर्ण हुन्छ।
त्यस्तो परीक्षणमा सङ्क्रमण पाइएन भने अन्य मानिसहरूमा त्यो नफैलिएको ठानिन्छ। यदि कसैमा सङ्क्रमण पाइए त्यस ठाउँमा रहेका सबैको जाँच हुनुपर्छ।
‘पुल टेस्टिङ्ले’ धेरै मानिसमा जाँच्ने कामलाई कम गर्नसक्ने र त्यसकै आधारमा निश्चित ठाउँमा आर्थिक क्रियाकलापहरू नियमित गर्न सकिने डा. रवि ठान्नुहुन्छ।
र्यापिड परीक्षण
विशेषज्ञहरूले भारतमा ठूलो सङ्ख्यामा एन्टिबडी अर्थात् शरीरले बाह्य पदार्थसँग प्रतिरोध गर्दा बनाउने तत्त्वको जाँच हुनुपर्ने ठान्छन्।
हातको औँलाबाट थोरै रगत झिकेर गरिने त्यस्तो जाँच सहज र छरितो हुन्छ।
त्यस्तो काममा भारतले पोलियो खोप अभियानजस्ता कामको अनुभव समेत सङ्गालेको छ।
यससँगै भारतले प्लाज्मा थेरापी समेत गर्नुपर्ने कुरा बीबीसीसँग कुरा गरेका विशेषज्ञहरू सुझाउँछन्।
यसमा भाइरसको सङ्क्रमणबाट निको भएका व्यक्तिको रगतबाट एन्टिबडीयुक्त प्लाज्मा भाइरसका बिरामीलाई दिन सकिन्छ।
आशावादी मोड
धेरै चिकित्सकहरूले यसलाई ‘आशावादी मोड’ बन्न सक्ने ठान्छन्।
भारतमा धेरैभन्दा धेरै जाँच हुनुपर्ने कुरामा कसैले पनि फरक मत राखेको पाइँदैन।

तर एक विशेषज्ञले ‘सामान्यभन्दा केही माथिल्लो स्वासप्रश्वासको सङ्क्रमण’ पाइने हरेक बिरामी यसको जाँचका लागि योग्य ठानिनुपर्ने बताए।
भारतमा आर्थिक क्षमता अभावकै कारण पनि थुप्रै मानिसहरूले सरुवा रोगको जाँच नगर्ने संस्कृति बनेको छ।
एक विशेषज्ञ भन्छन्स् “बिरामी भएपछि मात्रै डाक्टरकहाँ जाने हाम्रो प्रवृत्ति छ।”
सङ्क्रमण सम्बन्धमा सहज उत्तर छैन
प्रधानमन्त्रीको उत्साह जगाउने आग्रह र कर्मचारीको नियमित जानकारी दिने काम बाहेक सङ्क्रमणबारे जानकारी अस्पष्ट रहेको धेरैको गुनासो छ।
गतसाता मात्रै भारतमा मास्क लगाउनु अनिवार्य बनाइएको थियो।
निकै राम्रो जनस्वास्थ्य प्रणाली भएको दक्षिणी राज्य केरलाले मात्र अहिलेसम्म यसको सङ्क्रमणको गति कम पार्न सकेको देखिन्छ।
एकजना विशेषज्ञ भन्छन् ,’हामीले एकैपटक पूरै भारतलाई उपचार गर्न सक्दैनौँ। र, सबै राज्यले एकैपटक एउटै गति देख्ने छैनन्।’


















