गौर(रौटहट), १६ बैशाख । रौतहट जिल्लामा दुई जना कोरोना संक्रमित देखिएका छन्।
रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका एक एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।
दुवै संक्रमितको स्वाब केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइरसको संक्रमण पुनर्पुष्टि भएको थियो ।
गत बैशाख ४ गते दिल्लीबाट घर आइपुगेका देवाही गोहानी नगरपालिकाका वडा नम्बर १ करैनियाका ३५ वर्षीय पुरुष घरमा आएको दुई दिनपछि कोरोनाका लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो ।
त्यस्तै, कोलकत्ताबाट चैत्रमा नेपालमा आएका वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय अर्का पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई गते चैत्र २२ देखि नै स्थानीय क्वारेन्टिनमा राखिएको थियो।
जनकपुरबाट आएको टोलीले गरेको परीक्षण नेगेटिभ आएपछि उनलाई ६ बैशाखमा छोडिएको थियो। क्वारेन्टाइनबाट छाडिएको १० दिनपछि काठमाडौंमा गरिएको परीक्षणमा पुनः परिक्षणमा पोजिटिभ देखिएपछि उनलाई पुन क्वारेन्टाइनमा राखिएको छ ।
उपचारका लागि दुवै संक्रमितलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको छ ।
यीसहित नेपालमा कोरोनाभाइरसको संक्रमणमा परेकाको संख्या ५४ पुगेको छ र तीमध्ये १६ जना निको भइसकेका छन्।


















